वाणिज्य बैंकहरुको नाफा घट्यो, ७ बैंकको बढ्दा १३ बैंकको घट्यो, नबिलको अग्रता कायमै

काठमाडौं । अर्थतन्त्र शिथिल बन्दा चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरूको नाफा १३.४७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म ४७ अर्ब १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएका वाणिज्य बैंकहरुले यस आर्थिक वर्षको सोही अवधिसम्म ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ मात्र कमाउन सफल भएका छन् ।

समीक्षा अवधिमा ७ वटा बैंकको खुद नाफा बढेको छ भने १३ वटा बैंकको नाफा घटेको छ । बैंकहरूको खराब कर्जा बढेका कारण नाफामा ठूलो असर गरेको देखिन्छ । अर्थतन्त्रमा देखिएको समस्या र उच्च ब्याजदरका कारण ऋणीहरूले समयमा कर्जा नतिरेपछि यति बेला बैंकहरूको एनपीएल बढेको छ । खराब कर्जा बढ्दा बैंकले कमाएको नाफा प्रोभिजिङ गर्दा चालु आवको तेस्रो त्रैमाससम्म बैंकहरूको नाफा ७ अर्ब ६६ करोड रुपैयाँले घटेको हो ।

समीक्षा अवधिमा प्रतिशतका हिसाबले सबैभन्दा बढी नाफा बैंक कृषि विकास बैंकले कमाएको छ भने अंकका हिसाबले नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । कृषि विकास बैंकको खुद नाफा समीक्षा अवधिमा ९७.२२ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

त्यसैगरी, समीक्षा अवधिमा नाफा बढाउन सफल बैंकहरुमा लक्ष्मी सनराइज, प्राइम कमर्सियल, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, र एभरेष्ट बैंक रहेका छन्।

सबैभन्दा बढी नाफा कमाउने नबिल बैंक

अंकका आधारमा चैत अन्त्यसम्ममा सबैभन्दा बढी नाफा नबिल बैंक लिमिटेडको रहेको छ। यस बैंकले सो अवधिसम्ममा ४ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ । यद्यपि यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.७६ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो।

नेपाल बैंकको नाफा सर्वाधिक घट्यो

नाफा घटेका १७ वाणिज्य बैंकहरुमध्ये नेपाल बैंकको नाफा सर्वाधिक घटेको छ । समीक्षा अवधिमा सो बैंकको नाफा ९२.६८ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १३ करोड ५ लाख मात्र नाफा कमाएको छ ।

यस्तो छ अन्य बैंकको नाफा
लक्ष्मी सनराइज बैंकको २७.७० प्रतिशत बढेर १ अर्ब ६१ करोड रुपैयाँ, प्राइम बैंकको १६.६६ प्रतिशत बढेर २ अर्ब ८७ करोड रुपैयाँ, सिद्धार्थ बैंकको १३.०१ प्रतिशत बढेर १ अर्ब ६८ करोड रुपैयाँ नाफा गरेका छन् ।

सिटिजन्स बैंकको १.९९ प्रतिशत घटेर १ अर्ब २१ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६.२४ प्रतिशत घटेर २ अर्ब ४४ करोड रुपैयाँ, प्रभु बैंकको ७.२७ प्रतिशत घटेर १ अर्ब ८१ करोड रुपैयाँ, नबिल बैंकको ८.७५ प्रतिशत घटेर ४ अर्ब ६६ करोड रुपैयाँ, सानिमा बैंकको १५.९० प्रतिशत घटेर १ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।

हिमालयन बैंकको १२.०३ प्रतिशत बढेर १ अर्ब ९४ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंकको ७.५२ प्रतिशत बढेर ३ अर्ब २७ करोड रुपैयाँ, एभरेष्ट बैंकको ५.७७ प्रतिशत बढेर २ अर्ब ६० करोड रुपैयाँ नाफा गरेका हुन् ।

एनएमबि १६.४३ प्रतिशत घटेर २ अर्ब २४ करोड रुपैयाँ, कुमारी बैंकको १९.११ प्रतिशत घटेर १ अर्ब ५ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ३५.४४ प्रतिशत घटेर १ अर्ब १६ करोड रुपैयाँ, माछापुच्छ«े बैंकको ३६.७२ प्रतिशत घटेर ८५ करोड ५४ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ५३.३० प्रतिशत घटेर १ अर्ब ९१ करोड रुपैयाँ, नेपाल बैंकको ९२.६७ प्रतिशत घटेर १ अर्ब ३० करोड रुपैयाँ नाफा गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स