सेयर कारोबार गर्दा ध्यान दिनुपर्ने ज्ञान र सीप

अहिले हरेकको घर या चोक र चिया पसलमा प्राय सेयर बजारकै कुरा हुने गरेको छ । अपरिपक्व र नया लगानीकर्ता जो अरुको लहै लहै, साथी भाईको सल्लाह, सामाजिक सञ्जालमा आउने विभिन्न नामधारिका सुझाबका साथै अरुले कमाए र म चाही छुटे भन्ने सोचको कारणले गर्दा बजारमा छिर्ने गर्छन् ।

तर, तिनले बजार को प्रवृत्ति, गहिराई र यसको मनोविज्ञान थाहा पाउन सक्दैनन् सेयर बजारमा लगानी गर्नुको मुख्य उद्देस्य भनेको पैसा कमाउनु नै हो तर के सबैले पैसा कमाउछन त ? अहँ यो सेयर बजारमा पैसा कमाउने केहि ले मात्र हो बाँकीले जानकारीको अभाव या अपूर्ण जानकारीको कारण पैसा गुमाएको देखिन्छ ।

हो एउटा भनाई के रहेको छ भने बुल मार्केट मा त एक गधाले पनि पैसा कमाउदछ तर बियर मार्केट मा १० प्रतिहतले मात्र कमाएर बाँकीले गुमाएको हुन्छन् । हरेक व्यावसााय गर्न केहि निपुणता, कौशलता चाहिन्छ । सेयर बजार पनि एक व्यावसाय नै हो र नियम भन्दा यो माथि छैन । यसमा हिसाब र विश्लेषणलाई नै प्रमुख आधार मानिन्छ ।

मुख्य कुरा त के हो भने जसको विश्लेषण क्षमता कम छ या जो विश्लेषण गर्न जान्दैनन् तिनका लागि यो सेयर बजार उपयुक्त हुँदै हैन ।

सेयर बजारमा लगानी गर्नको लागि उचित सेयर छनौट गर्नु भनेको वर्षदेखि लगानी गरिरहेका लागि पनि एक कठिन कार्य हो । यसमा हाम्रो उद्देश्य, लगानीको समयावधि, लगानीकर्ताको जोखिम मोल लिन सक्ने क्षमता लगायत कुराले असर गर्दछ ।

त्यसैले सेयर बजारमा लगानी गर्नु भन्दा पहिले नै नयाँ लगानीकर्ताले त धेरै कुरामा ध्यान दिन जरुरी छ । लगानीकर्ताले सेयर कारोबार गर्नुभन्दा पहिले नै धेरै कुरामा प्रस्ट भएर मात्र सेयर बजारमा लाग्नु उपयुक्त हुनेछ ।

पहिले नै प्रस्ट हुनु पर्ने केहि कुराहरु यस प्रकार छन्

१) पहिले आफ्नो आर्थिक अवस्था र क्षमता अनुसारको आफ्नो लगानीयोग्य पुंजी के कती छ यो बारे प्रस्ट हुनु पर्दछ । लगानी गरिसके पछी छोरा छोरीको पढाइ खर्च, घर खर्च या भईपरि आउने आपतकालीन केही अन्य खर्चको लागि भोलि अरुसंग हात फैलाउनु पर्ने त हैन ? यो पहिले नै विचार गर्नु पर्दछ ।

२)आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता पनि पहिले नै निर्धारण गर्नु पर्दछ । कति सम्म नोक्सानी हुँदा आफु लाई मानसिक, पारिवारिक र आर्थिक रुपमा ज्यादा फरक पर्दैन भन्ने एक सिमा निर्धारण गरे भोलि आउन सक्ने कुनै पनि तरिकाको समस्या बारे पहिले नै मानसिक रुपमा तयार भएर बस्न सहयोग मिल्ने छ ।

३) आफ्नो लगानीको उद्देश्य बारे प्रस्ट हुनु पर्ने । लगानी गर्ने उद्देश्य सबैको बेग्ला बेग्लै हुन सक्दछ । स्थिर आम्दानी गर्ने, जोखिम लिएर नाफा आर्जन गर्ने, जोखिम कम लिएर नाफा आर्जन गर्ने अथवा छोटो समयको लागि लगानी गर्ने हो या लामो समयको लागि लगानी गर्ने हो । यी कुरालाई विचार गरि आफ्नो उद्देश्यबारे पहिले नै आफु प्रस्ट हुनु पर्दछ ।

४) लगानी गर्न मिल्ने पुँजी र आफ्नो उद्देश्यका साथ जोखिम बहन गर्न सक्ने सिमाको बारेमा प्रष्ट भएपछि आफ्नो पुँजीले पुग्ने र उद्देश्य पुरा हुने खालको सेयरको वर्गिकरण गर्नु पर्दछ । जस्तै जोखिम लिएर बढी नाफा खोज्ने हो भने मूल्यमा उतार चढाब आइरहने सेयर खरिद गर्न सकिन्छ, जोखिम कम लिएर नाफा खोज्ने हो भने सरकारी धितोपत्र खरिद गर्न सकिन्छ ।

५) आफ्नो उद्देश्य र पुँजी अनुसार कुन तरिकाले र कसरी लगानी गर्ने भन्ने निर्णय गरि सकेपछि आफ्नो सहुलियत बमोजिमको उपयुक्त हुने कम्पनी कुन हो त ? त्यो निक्योल गर्नका लागी कम्पनी छनौट गर्न निम्न ५ तरीकाले विश्लेषण गर्दा सहयोग मिल्दछ ।

अ) देश तथा विश्व को राजनैतिक, आर्थिक विश्लेषणः देश तथा विश्वको राजनैतिक अवस्था आर्थिक अवस्था र यसबाट सेयर बजारमा पर्न सक्ने असरको विश्लेषण गर्ने । जस्तै एक देशले अर्के देश माथि आक्रमण त गरि रहेको छैन किनकी त्यसको प्रत्यक्ष या परोक्ष असर हामीलाई पनि पर्दछ । विश्व का अरु ठाउं का सेयर बजारमा के भईरहेको छ । त्यसले पनि फरक पर्दछ (कोभिड-१९ पछि विश्व का अन्य देशको सेयर बजार बढ्दा हाम्रो पनि बढ्यो) ।

त्यस्तै हाम्रो देशमा बैदेशिक सहयोग के कति प्राप्त भयो ? प्रति व्यक्ति आय कति प्रतिशतले बढ्यो ? यो समेत विचार गर्नु पर्ने हुन्छ । राजनैतिक समीकरण कस्तो छ, मौद्रिक नीति कस्तो आयो या आउने वाला छ र यसले समग्र पुँजी बजारमा या कुनै एक सेक्टरमा के कस्तो असर पर्दछ लगायतको सहि विश्लेषण नगरी बजारमा लगानी गर्नु जुवा खेल्नु जस्तै नै हो ।

आ) कम्पनिको आन्तरिक विश्लेषणः कम्पनीको प्रति सेयर आय, मूल्य आम्दानी अनुपात, बुक भ्यालु, कम्पनीको आम्दानी, नाफा, खर्चको स्थिति, जगेडा कोषहरु, बिगत समयमा बाड्दै आएको लाभांश आदिको विश्लेषण गर्ने । यसबाट भोलि मन्दीको अवस्थामा पनि उक्त कम्पनीले लाभ आर्जन गर्न सक्छ की सक्दैन भन्ने कुरा बुझ्न मद्दत मिल्दछ ।

इ) कम्पनीको बाहय विश्लेषणः आम लगानीकर्ताको उक्त कम्पनी प्रतिको धारणा बुझी कम्पनीको ट्रेन्ड कस्तो प्रकारको रहेको छ । कम्पनीको सेयरको मूल्यमा कस्तो खालको उतार चढाव भईरहेको छ । मूल्य बढ्ने या घट्ने दर कस्तो छ आदि कुराको विश्लेषण गर्ने ।

ई) कम्पनी तथा व्यवस्थापन समिति बारे विश्लेषणः कुनै पनि कम्पनीमा लगानी गर्नु पहिले कम्पनीले के को तथा कसरी कारोबार गर्दछ, काम कै आधारमा कम्पनीको ग्रोथ भईरहेको छ की अन्य कारणले भईरहेको छ, सुचना चुहावट कतिको हुने गरेको छ, कम्पनि का प्रबन्ध निर्देशक, संचालक तथा कम्पनीका कर्मचारीमा भएको इमान्दारिता, कार्यदक्षता आदिको विश्लेषण गर्ने ।

कुनै पनि सूचना प्रकाशित हुनु अगावै कम्पनीको कोहि न कोहि आधिकारिक व्यक्तिले सूचना चुहाए पछि बजारमा पहिले नै हुने हलचलले यो जानकारी दिन्छ । अहिले हाम्रो देशमा नियामक निकाय आफैं विभिन्न विकृतिमा लिप्त भएको देखिएको हुँदा हामी जस्तो साधारण लगानी कर्ताले नै मुख्य रुपमा यसमा ध्यान दिई सजग हुँदै आवाज उठाउनु पर्ने देखिन्छ ।

उ) टेक्निकल विश्लेषणः बजारको मनोविज्ञान र बजार कता जादैछ भन्ने कुरा बुझ्न यो टेक्निकल विश्लेषण प्रयोग गरिन्छ । टेक्निकल विश्लेषण मा बिशेष गरी सेयरको मूल्य र कारोबार भएको संख्यालाई एक चार्टमा प्रस्तुत गरेर आगामी समयमा बजार के हुन सक्छ, त्यसको अनुमान लगाइन्छ ।

चार्टबाट अहिले बजारमा भईरहेको उतार चढाव आदि हेर्न यसले मद्दत गर्दछ । यसको मुख्य सिद्धान्त भनेको मांग ज्यादा भए मूल्य बढ्ने र आपूर्ति ज्यादा भए मूल्य घट्ने रहेको छ । यसले हामीलाई बजारमा खरिद र बिक्रि गर्ने सहि ठाउंको निक्यौल गर्न सहयोग गर्दछ। टेक्निकल विश्लेषण गर्नका लागि बोलिंगर बेन्ड, एमएसीडी, आरएसआई आदि जस्ता विभिन्न इन्डिकेटर प्रयोग गरिन्छ।

यसरी विश्लेषण गर्दा ध्यान दिनु पर्ने मुख्य कुराहरु

क) बिगत ५ वर्षदेखि कति प्रतिफल दिएको छ ।

ख) प्रत्येक बर्ष उचित दरले लाभांश बाँडीरहेको छ की छैन ।

ग) उक्त कम्पनीको कमाइ निरन्तर बढी रहेको छ की अस्थिर र घाटामा गएको छ ।

घ) कम्पनीले तिर्नु पर्ने ऋणको अवस्था के छ ।

ङ) पुंजी कट्टीका लागी बोनस सेयरलाई प्राथमिकता दिने गरेको छ की हकप्रदलाई, किन कि प्राय नराम्रो बित्तिय अवस्था भएको कम्पनीले मात्र हकप्रद सेयर सर्वसाधारणका लागी निस्कासन गर्दछ ।

च) माथि उल्लेखित अन्य कुराबाट उचित सेयर छानी सके पछि टेक्निकल विश्लेषणद्वारा बजारको मनोभाव के छ । ट्रेन्ड के रहेको छ । चार्ट ले के दर्शाई रहेको छ आदि बिचार गरि कहाँ प्रवेस गर्ने र कहाँ निस्कने यो निक्यौल गर्ने ।
६ अब उपयुक्त तरिकाले विश्लेषण गर्ने प्रक्रिया पुरा भएपछी आफ्नो उद्देश्य बमोजिमको कम्पनी छनोट सकेपछि मात्र त्यसमा लगानी गर्न उपयुक्त हुनेछ ।

यसका साथै यो पनि बुझ्न जरुरी छ कि १ कक्षा पास भएपछी मात्र २ कक्षामा जाने जस्तै यो बजारको हरेक पक्ष को बारेमा निरन्तर जानकारी लिंदै, प्रशिक्षित हुँदै, आफु लाई निखार्दै एक एक खुड्किला अगाडी बढेको खण्डमा बजारले हरेक घण्टा हरेक समय मौका दिन्छ ।

यो बजार भनेको समुन्द्र हो तर समुन्द्रमा पौडी खेल्न आउने हुनु चै पर्दछ नत्र धन को मात्र हैन ज्यानको समेत खतरा यहाँ पनि रहेको छ ।

लेखक कार्की

(विगत १० वर्षदेखि सेयर बजारमा राजेश कार्की सक्रिय छन्)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स