प्रत्यक्ष चुनावमा उत्रिए दर्जन उद्यमी व्यवसायी, के फेरिएला त देशको मुहार, कुन क्षेत्रबाट को ?

काठमाडौं । हुन त राजनीतिलाई फोहोरी खेल र कमाउने भाडोको रुपमा लिने गरिन्छ । दलका नेताहरूले जनताबाट विश्वास गुमाउँदै जाँदा अर्थात व्यक्तिगत स्वार्थमा लिप्त हुँदै जाँदा वर्षौदेखि व्यवसाय गरेर बसेका देशलाई आत्मनिर्भर बनाउने अभियानमा जुटेका व्यवसायीहरू पनि यस पटक चुनावी मैदानमा उत्रिएका छन् । वास्तवमै भन्ने हो भने यस्ता व्यवसायी नीति नियम बनाउने ठाउँमा जानु भनेको राम्रो पक्ष पनि हो । अर्थतन्त्र बुझेका व्यवसायीले चुनाव जिते भने देशको मुहार फेर्न तथा अर्थतन्त्रलाई अझ मजवुद बनाउन अझ सहयोग मिल्ने अनुमान गर्न सकिन्छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा करिब एक दर्जन व्यवसायी चुनावी मैदानमा देखिएका छन् । यस अघिको चुनावमा निर्माण व्यवसायीमात्रै चुनावी मैदानमा उत्रिएपनि पनि अहिले भने उद्यमीदेखि बैकर्ससम्म प्रत्यक्ष चुनावी प्रणालीबाट प्रतिनिधिसभाको सदस्य बने मनोनयन गर्दा गराएका हुन् ।

यसअघिका निर्वाचनमा अन्य उद्यमी व्यवसायीहरू समानुपातिक प्रणालीबाट मनोनित भएर संसदमा आउने गरेका थिए । उद्यमी तथा व्यवसायीलाई टिकट दिनेमा नेपाली कांग्रेस अगाडि देखिएको छ ।

चुनावी मैदानमा उत्रिने व्यवसायीमा सबै ठूला दलबाट मात्रै देखिएका छन् । यसरी धेरै व्यवसायीहरूलाई टिकट दिनेमा नेपाली कांग्रेस अगाडि छ भने दोस्रोमा एमाले परेको छ । कांग्रेसले डलर अर्बपति चौधरी ग्रूपका अध्यक्ष विनोद चौधरीलाई प्रत्यक्ष निर्वाचनमा उतारेको छ ।

नवलपरासी पश्चिम क्षेत्र नं. १ बाट टिकट पाएका डलर अर्बपति चौधरीको प्रतिस्पर्धामा पूर्वमन्त्री तथा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी र नेकपा एमालेकी सिन्धु लजेशा बुढाथोकी उत्रिएका छन् ।

चौधरीले टिकट पाएका क्षेत्रमै चौधरीको सीजी ग्राम (उद्योगहरु) रहेको छ र चौधरीले स्थापना गरेको उद्योगमा धेरै स्थानीयले रोजगारी पाएका छन् । उनले नेपालका १२ जिल्लाका भूकम्प पीडितहरूलाई सहयोग पुर्याउन स्वास्थ्य सेवाकर्मीहरूको व्यवस्था गरेका थिए । भूकम्पले नष्ट भएका विद्यालय र घरहरू पुनर्निर्माण गर्नका लागि २५ करोड भन्दा बढी नगद सहयोग गरेका थिए । उनले भूकम्पका बेला २५ घर निर्माण गरेर हस्तान्तरण गरेका थिए भने वीर अस्पताल, कान्तिबाल अस्पतालमा आईसीयू जडान गरिदिनुका साथै विभिन्न अस्पतालमा अक्सिजन प्लान्ट पनि जडान गरिदिएका थिए ।
सामाजिक सेवामा पनि त्यति कै समर्पित चौधरीले त्यस ठाउँको विकास निर्माण, सामाजिक, आर्थिक तथा खेलकुद गतिविधि पुर्याएको सहयोगको गुण अब जनताले मत दिएर तिर्ने देखिएको छ । २०७४ को निर्वाचनको समयमा कांग्रेस प्रवेश गरेका चौधरी कांग्रेसको केन्द्रीय सदस्य हुन्् । कांग्रेसमा उनको उपस्थितिले आर्थिक विकासको एजेण्डाले प्राथमिकता पाउँदै आएको छ ।

कांग्रेसबाट प्रत्यक्षमा टिकट पाउने अर्का व्यवसायी उमेश श्रेष्ठ हुन् । विद्यालय सञ्चालक श्रेष्ठ प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजुका विश्वासपात्रको रुपमा पनि चिनिन्छन् । उनको पर्यटन र जलविद्युत क्षेत्रमा पनि लगानी रहेको छ । हाल विना विभागीय मन्त्रीको रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्दै आएका श्रेष्ठले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य टिकट पाएका हुन् । क्षेत्र नम्बर २ मा टिकट दिनु अघि उनलाई चितवनकै क्षेत्र नम्बर १ बाट टिकट दिने तयारी थालिएको थियो । श्रेष्ठको प्रतिस्पर्धा एमालेका नेता कृष्णभक्त पोखरेल र युवा नेता तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग हुँदैछ ।

चुनावी मैदानमा रहेका अर्का चर्चित व्यवसायी हुन राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे । यसअघिको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पाण्डे पराजित भएका थिए । यसपटकको चुनावमा भने उनलाई सहज हुने भएको छ ।

प्रचण्ड यस पटक सो क्षेत्र छोडेर गोरखा पुगेका छन् । यस पटक चितवन– ३ मा एमालेबाट रामप्रसाद न्यौपाने र सत्ता गठवन्धनबाट माओवादी केन्द्रका भोजराज अधिकारी उम्मेदवार छन् । यसले उनलाई चुनाव जित्न अझ सहज बनाएको छ ।

पाण्डेले आफ्नो व्यक्तिगत पहलमै आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका काम गर्नुका साथै स्थानीयलाई समस्या पर्दा सहयोगसमेत गर्दै आएका छन् ।

मेडिकल व्यवसायी सुनिल शर्माले पनि नेपाली कांग्रेसबाट टिकट पाएका छन् । उनलाई सत्ता गठवन्धनको तर्फबाट कांग्रेसले मोरङ–३ बाट उठाएको हो । उक्त क्षेत्रमा अहिले अभिनेत्री रेखा थापा राप्रपाबाट चुनावी मैदानमा उत्रिएकी छिन् । उक्त क्षेत्रमा एमालेका नेता तथा पूर्वमन्त्री भानुभक्त ढकाल पनि चुनावी मैदानमा भएकाले त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ । शर्मा यसअघि झिनो मतान्तरले पराजित भएका थिए ।

कृष्णकुमार श्रेष्ठ (किसान) ले यस पटकको चुनावमा बारा क्षेत्र नम्बर ४ बाट लड्ने भएका छन् । एकीकृत समाजवादीका नेता श्रेष्ठले तनहुँबाट टिकट नपाएपछि बारा क्षेत्र नम्बर ४ चुनाव लड्न लागेका हुन् । सत्ता गठवन्धनबाट पौडेलले तनहुँबाट टिकट पाएपछि उनी त्यहाँबाट विस्थापित भएका हुन् । होटललगायत विभिन्न क्षेत्रमा लगानी गरेका उनले यसअघिको संसदीय निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँबाट हराएर थिए ।

मनाङमा दुई व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ । ठूलो स्याउ फार्म सञ्चालन गर्दै आएका एमालेका पोल्देन छोपाङ गुरुङ र म्यानपावर व्यवसाय गरिरहेका कांग्रेसका टेकबहादुर गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ । २०७४ को निर्वाचनमा पनि उनीहरुबीच नै प्रतिस्पर्धा भएको थियो । त्यति बेला पोल्देन गुरुङ विजयी भएका थिए । टेकबहादुर गुरुङ भृकुटीमण्डप फनपार्क सञ्चालकमध्य एक हुन् ।

निर्माण व्यवसायी मोहन आचार्यले फेरि पनि सोही क्षेत्रबाट टिकट पाएका छन् । कांग्रेसबाट चुनाव जित्न सफल भएका रसुवाका नेता आचार्यले अहिलेको चुनावमा पनि सोही ठाउँबाट टिकट पाएका हुन् । उनी सिभिल इन्जिनियर पनि हुन् । आचार्यको प्रतिस्पर्धा एमालेका छेवाङ तेन्जेन तामाङसँग हुँदैछ । निर्माण व्यवसायी पूर्णबहादुर (कान्छाराम) तामाङ रामेछापबाट उम्मेदवार बनेका छन् । उनी कांग्रेसको रामेछाप जिल्ला सभापति पनि हुन् । यसअघि उनी सोही क्षेत्रबाट पराजय बन्नु परेको थियो ।

अर्का निर्माण व्यवसायी बालकृष्ण शिवाकोटीले दोलखाबाट उम्मेदवारी दर्ता गराएका छन् । एमालेका नेता शिवाकोटीले सत्ता गठवन्धनको तर्फबाट माओवादी केन्द्रका गंगा कार्की र राप्रपाका विजय खड्कासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

कांग्रेसबाट उम्मेदवार रहेका पर्यटन व्यवसायी राजेन्द्र बजगाईंले गोरखा क्षेत्र नम्बर १ बाट टिकट पाउन सफल भएका हुन् । क्यासिनोमा समेत ठूलो लगानी गरेर छोडेका उनलाई कांग्रेसले विश्वास गरेर टिकट दिएको छ । बजगाईंको प्रतिस्पर्धा एमालेका रामशरण बस्नेत र राप्रपाका उदयबहादुर भट्टसँग हुँदैछ ।

रेष्टुरेन्ट, बैंक्वेट, घरजग्गा व्यवसायमा लगानी गरेका व्यवसायी दीपक खड्का पनि कांग्रेसबाटै चुनावी मैदानमा उत्रिएका छन् । संखुवासभाबाट उनले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका हुन् । उनको प्रतिस्पर्धा यस पटक पनि एमालेका राजेन्द्र गौतमसँग हुँदैछ । कांग्रेसको संखुवासभा जिल्ला सभापतिसमेत रहेका खड्का २०७४ सालको निर्वाचनमा विजयी भएका थिए ।

म्यानपावर व्यवसायी एलपी (लालप्रसाद) सावाँ लिम्बुले यस पटकको निर्वाचनमा प्रत्यक्षबाट टिकट पाएका छन् । एमालेबाट टिकट हात पार्न सफल भएका उनले जलविद्युतलगायतका क्षेत्रमा पनि लगानी गरेका छन् ।

लिम्बुले झापा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका हुन् । एमालेनिकट व्यवसायीहरूको महासंघको समेत नेतृत्व गर्दै आएका लिम्बुले २०७४ सालको चुनापमा कांग्रेसका देउकुमार थेवेलाई हराएर आफू विजयी बनेका थिए ।

यस पटक  समानुपातिकमा बस्ने व्यवसायीहरुमा देवीप्रकाश भट्टचनसहित नगन्य मात्रै व्यवसायी छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स