गलत काम गर्ने कम्पनीलाई कानुनी डण्डा चलाउन प्राधिकरण बाध्य हुन्छः अध्यक्ष सलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले गलत गर्ने कम्पनीहरूलाई कानुनको डण्डा चलाउनु पर्ने दायित्व प्राधिकरणले बोकेको बताएका छन् । कानुनको डण्डा चलाउनु पर्ने अवस्था आएमा प्राधिकरण बाध्य हुने उनले बताएका छन् ।

व्यवसाय आयो भन्दैमा त्यसको स्रोत नै नखोजी अर्थात त्यो प्रिमियम तिर्न सक्ने ल्यागत राख्छ कि राख्दैन भनि नबुझी बीमा गर्दा यो क्षेत्रमा समस्या आएको उनले बताएका हुन् । ‘बीमाको जोखिमांक अर्थात अण्डरराईटिङलाई राम्रो बनाएनौं, हामीलाई पैसा चाहियो, त्यो मान्छेको स्रोत के हो ? त्यो मानिसले बीमा प्रिमियम तिर्न सक्ने ल्याकत राख्छ कि राख्दैन ?

त्यही मान्छेको कागजात पेश भएको हो वा होइन ? बस ! पैसा आयो सकियो ।’ त्यो समस्या आजको दिनमा पनि दोहोरिँदै आएको छ भन्दै उनले सबै कम्पनीलाई सचेत गराएका हुन् । अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाली बीमा क्षेत्रमा अण्डरराईटिङ राम्रो बनाउन नसकिएको भन्दै बीमा कम्पनीहरूप्रति गुनासो गरेका छन् ।

अध्यक्ष सिलवालले आज सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘सही प्लान’ प्रडक्ट लन्च कार्यक्रममा बोल्दै उनले बीमाको बारेमा आम मानिसमा बुझाउनुपर्ने आवश्यकता देखिएको बताए ।

‘वितगमा प्रतिवद्धता जनाइएको थियो, बजार राम्रो हुँदै गइरहेको थियो, त्यहि कुरा फेरि पनि अटेर गरेर दोहोर्याउने हो भने प्राधिकरणसँग कारवाही गर्नुको विकल्प नै छैन,’ उनले भने ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई बीमाबारे सचेतना फैलाउन, बीमाबारे प्रचार प्रसार गर्न, अण्डरराईटिङ प्रक्रिया बलियो बनाउन, समयमा दावी भुक्तानी गर्न, बीमा पोलिसीहरु अध्ययन अनुसन्धानमा आधारित भएर तयार निर्देशन गरेका छन् ।

बीमाको बारेमा आम मानिसमा बुझाउनुपर्ने आवश्यकता देखिएको छ । बीमाको बारेमा स्थानीय तहलाई बुझाउनसके मात्र आम सर्वसाधारणले पनि सहजै बुझ्न सक्ने स्थिति रहने र प्रत्येक परिवार र व्यक्तिलाई कसरी आर्थिक रुपमा सुरक्षित र सहयोग गर्ने भन्नेबारेमा प्राधिकरणले काम गरिरहेको जानकारी गराए ।

उनले आउने समय बीमाको हिसावमा अझै सुखमय हुने दावी पनि गरे । आम सर्वसाधारणलाई किन बीमा गर्ने र बीमा गर्दा के हुन्छ ? भन्ने कुराको आवश्यकता बुझाउन जरुरी रहेको बताउँदै सिलवालले ७० वर्षको मानिसले प्रिमियम फिर्ता पाउँछ भने ७५ वर्षको मानिसले के गर्ने ? भन्नेबारेमा पनि सोच्न जरुरी रहेको बताए ।

बीमालाई सरकारी निकायले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । सिलवालले नेपालमा मात्र नभई अन्य मुलुकमा पनि बीमा नबुझ्ने समस्या रहेको जापानमा हालै आयोजित बीमा नियामकहरूको कार्यक्रममा सहभागी हुँदा आफूले पाएको सुनाउँदै बैंक वित्त जस्तो बीमालाई कसैले नबुझ्ने बताए ।

सरकारले घर र सम्पत्तिको बीमा अनिवार्य गर्ने प्रक्रिया अघि बढाउन लागेको बताउँदै सिलवालले त्यसलाई अघि बढाउन प्राधिकरणले के गर्नुपर्ने हो ? त्यसको लागि आफूहरु तयार रहेको बताए ।

सिलवालले भने, ‘बीमा भनेको तपाईँ नरहँदा पनि यो बीमाले साथ दिन्छ । हामीले टुँडिखेलमा जम्मा गरेर सबैलाई बुझाउन सक्दैनौ । वडा अध्यक्ष, वडाका सदस्य र मेयरले बीमाको बारेमा बुझ्नुपर्छ । हामीले तीन सय स्थानीय तहसँग अन्तरक्रिया गरिसकेका छौं ।’

विद्यालयमा चुरोटको खराबीको बारेमा जानकारी दिएजस्तै बीमाको सवल पक्षको बारेमा पनि जानकारी दिनुपर्ने उनले बताए । अध्यक्ष सिलवालले प्रत्येक नागरिकलाई बीमाले साथ दिने बताए ।

जाजरकोट र रुकुमको भूकम्पको घटना उठाउँदै उनले घर तथा सम्पत्तिको बीमा गर्नुपर्छ भनेर दिएको सुझाव नमान्दा अहिले ठूलो लगानी गर्नुपर्ने अवस्था आएको, त्यति ठूलो लगानी अब सरकारले कसरी जुटाउँछ ? भनेर प्रश्न गरे ।

बीमामा जोडिएका हरेकले बीमामा आवद्ध भएमा यसबाट साथ पाउने बताउँदै सिलवालले कम्पनीले पनि यस्ता नयाँ प्रोडक्ट ल्याउनुपर्ने र परम्परागत बीमालेख रोकेर नवीन प्रोडक्टहरूको विकास गरेमा बीमा व्यवसाय बढ्ने बताए ।

उनले गरिवहरूले पनि बीमा गर्न पाउने किसिमका बीमालेख आवश्यक रहेको बताए । नागरिक वडापत्रमा बीमाको सुविधा थप्नुपर्ने उनले बताए । सिलवालले छिमेकी मुलुक भारतमा गाडी चलाउनेसँग ब्लु बुक नभई बीमा गरेको प्रमाण हेर्ने गरिन्छ भन्दै गरिवहरुको बीमा गर्न बीमा कम्पनीहरू अग्रसर हुनुपर्ने बताए ।

निर्जीवन बीमाको बजार धेरै परिवर्तन भएको सिलवालको भनाइ छ । उनले विश्वमा गाडी चलेको दिनको मात्रै बीमा गराउने, नचलेको दिनको नगर्ने चलन आएको बताउँदै नेपालमा पनि फरक ढंगले बीमा गर्ने परिपाटीको विकास गर्नुपर्ने बताए ।

अध्यक्ष सिलवालले दावी भुक्तानी समयमा बीमा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी पनि दिए । विगत दुई वर्षको तुलनामा बीमाको दाबी भुक्तानीमा निकै सुधार आएको उनको भनाइ छ । सिलवालले बीमा कम्पनीहरूले दाबी भुक्तानी दिने बेलामा पैसा एकैपटक दिने वा टुक्राएर दिने भन्दा पनि सम्बन्धित व्यक्ति र यसले समयमा पैसा पाउने कुराले महत्व राख्ने बताए ।

मर्जरमा सूर्यज्योति सफल भएको सिलवालले दाबी गरे । उनले सूर्य लाइफ र ज्योति लाइफ सरल रुपमा मर्ज भएको बताउँदै सूर्यज्योतिले ल्याएको नयाँ प्रोडक्ट नवीन र फरक खालको रहेको र यो कति प्रभावकारी हुन्छ ? बजारमा गएपछि थाहा पाउन सकिने बताए ।

बीमाको पहुँच बढेर ६० प्रतिशत पुग्नु उपलब्धीको रुपमा चित्रण गर्दै उनले अहिले आर्थिक मन्दीकै कारण बीमा क्षेत्रले चाहेजस्तो फस्टाउन सकस भएको बताए । उनले भने, ‘बीमा भनेको विश्वास हो । कम्पनीप्रति नागरिकहरूको विश्वास हुनुपर्यो ।

बीमा गर्ने म हो भने मैले बुझ्नुपर्छ । डकुमेन्टलाई साधारण बनाएर नागरिकहरुले बुझ्ने पाटोमा काम गर्नु पर्छ । एउटा पोलिसीलाई पाँच पन्ना छ भने दुई पन्नामा झारेर नागरिकले बुझ्ने हिसाबले बीमा गराउनुपर्छ । अब अभिकर्ताहरूले बुझेको भए मात्रै लाइसेन्स पाउँछ । हामी त्यस्तो प्रणालीमा पनि लागिसकेका छौं । हामीले अब नयाँ प्रोडक्टको बारेमा बुझाउने हिसाबले काम गर्न जरुरी छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स