दोधारा चाँदनी सुक्खा बन्दरगाह २५ हेक्टरमा निर्माण हुने

काठमाडौं । भारत सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा कञ्चनपुरको दोधारा चाँदनीमा आगामी आर्थिक वर्षभित्रै सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने लक्ष्यका साथ प्राविधिकहरूको एक टोली वातावरणीय व्यवस्थापन योजना तयार गर्न निर्माणस्थलमा परिचालन भएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले वन तथा वातावरण मन्त्रालयले वातावरणीय व्यवस्थापन योजना बनाउन पत्राचार गरेसँगै समितिबाट इन्जिनियरको नेतृत्वमा प्राविधिक टोली कञ्चनपुरमा खटिएको जानकारी दिए ।

‘वन मन्त्रालयले पहिले स्वीकृत भएको इआइएलाई टेकेर फेरि वातावरणीय व्यवस्थापन योजना बनाउन भनेपछि टोली शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित सहकार्य गरेर सो काममा खटिएको छ’, कार्यकारी निर्देशक गजुरेलले भने, ‘हाम्रो गुरुयोजनाभन्दा आकारमा सानो तर पर्याप्त हुने विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) भारतले बनाएको रहेछ ।’

उनले आकारमा पहिलेभन्दा सानो विस्तृत परियोजना प्रतिवेदन बनेकाले अब ४२ हेक्टरबाट घटेर २५ हेक्टरमा सुक्खा बन्दगाह निर्माण हुने बताए । ‘रुख कटान र जग्गा पनि प्रयोग कम हुने भएकाले पुनः वातावरणीय व्यवस्थापन योजना बनाउनु परेको हो’, उनले भने, ‘त्यो बनेपछि हामी वन मन्त्रालयमा पेस गर्छौं।’ आगामी आवको नीति तथा कार्यक्रममा सुक्खा बन्दरगाह निर्माणलाई समावेश गरिएको उनले बताए ।

दोधारा चाँदनी नगरपालिकाको मायापुरी र गौरीशङ्कर मध्यवर्ती वन क्षेत्रमा निर्माण प्रस्ताव भएर विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको सुक्खा बन्दरगाहका लागि जग्गा प्राप्तिको विषय मन्त्रिपरिषदबाट निर्णय गराउन बाँकी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको गत जेठमा भएको भारत भ्रमणका क्रममा दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स