काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने

काठमाडौं । आगामी वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने भएको छ । प्रदेशका आयोजनाका लागि छुट्टै स्टल राखिनेछ ।

बिहीबार बसेको लगानी सम्मेलन निर्देशक समितिको बैठकमा अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुनले प्रदेशका योजनामा पनि लगानी जुटाउनका लागि लगानी सोकेसमा राखिने जानकारी दिए ।

लगानी सम्मेलन निर्देशक समितिले हिजो प्रदेश मुख्यमन्त्रीहरुसँग अन्तरक्रिया गरेको थियो । त्यस क्रममा प्रदेश तहबाट हुने सहभागिता र सम्मेलनमा लगानीका लागि समावेश गर्न सकिने प्रादेशिकस्तरका आयोजनाहरुको तयारीबारे छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । हाल तयारी अवस्थामा रहेका वा नयाँ योजना छनोट गरी लगानी सम्मेलनमा समावेश गर्न निर्देशक समितिले प्रदेशहरुसँग आग्रह गरेको छ ।

जलविद्युत्, सूचना प्रविधि, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न सकिने धारणा प्रदेशबाट आएको छ । त्यस्तै, निजी क्षेत्रका प्रतिनिधि संस्थाहरुले औंल्याएका विद्यमान केही कानुनमा संशोधन तथा विदेशी लगानीकर्तालाई मुनाफा लैजान सकिने आधार तय गर्नुपर्ने सुझाव मुख्यमन्त्रीहरुबाट आएको थियो ।

निर्देशक समिति बैठकमा अर्थमन्त्री पुनले लगानी वातावरण सुधारका लागि आवश्यक कानुनमा परिमार्जनको प्रक्रिया अघि बढेको जानकारी दिए । उनले गैरआवासीय नेपालीलाई पनि लगानी सम्मेलनमा आउन आह्वान गरिएको बताए ।

‘गैरआवासीय नेपालीहरुलाई पनि लगानी सम्मेलनमा आमन्त्रण गरेका छौं’, अर्थमन्त्री पुनले भने, ‘परिस्थितिवश अरु देशको नागरिकता लिएको भए पनि उनीहरु नेपाली नै हुन् । आफ्नो मातृभूमिमा आएर लगानी गर्न इच्छुक पनि भएको मैले पाएको छु ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स