काठमाडौं छिर्ने मूख्य सडक नागढुंगा-मुग्लिङ फराकिलो बन्दै, ठेकेदारसँग आर्थिक प्रस्ताव माग

काठमाडौं । सरकारले राजधानी प्रवेश गर्ने मूख्य सडक नागढुंगा-मुग्लिङ सडक स्तरोन्नति गर्ने भएको छ । सडक विभाग (नारायणघाट-मुग्लिङ सडक) नागढुंगा-मुग्लिन सडक योजनाले मुग्लिङ-नागढुंगा सडक विस्तार प्रक्रिया अघि बढाएको हो । साँघुरो नागढुंगा-मुग्लिन सडकलाई नारायणघाट-मुग्लिङ सडक खण्ड जस्तै फराकिलो र चिल्लो बनाएन लागिएको हो ।

करिब ९६ किलोमिटर लामो मुग्लिङ-नागढुंगा सडक खण्डलाई ३ वटा प्याकेजमा विभाजन गरेर स्तरोन्नति गर्न खोजिएको छ । जसमा प्याकेज १ नागढुंगा-नौबिसे १२.६२ किलोमिटर, प्याकेज २ नौबिसे-मलेखु ४३.५२ किलोमिटर र प्याकेज ३ मलेखु-मुग्लिङ ४० किलोमिटर रहेको छ ।

तीन वटा प्याकेज मध्ये नागढुंगा-नौबिसे र नौबिसे-मलेखु खण्ड निर्माणका लागि प्रारम्भिक सूचिमा परेका कम्पनीसँग आर्थिक प्रस्ताव माग गरिएको योजना प्रमखु अमृतमणि रिमालले जानकारी दिए ।

प्याकेज १ र प्याकेज २ मा ३२/३२ वटा कम्पनी प्रारम्भिक सूचिमा परेका थिए । १४ वटा कम्पनी दुवै प्याकेजको ठेक्का प्रारम्भिक सूचिमा परेका छन् । यी कम्पनीहरु कार्य मूल्यांकनका आधारमा प्रारम्भिक रुपमा सूचिकृत भएका हुन् ।

यी कम्पनीहरुसँग असोज ७ गते आर्थिक प्रस्ताव माग गरिएको छ । सूचिकृत कम्पनीहरुले कात्तिक २५ गतेसम्म आर्थिक प्रस्ताव बुझाउनु पर्नेछ । सबैभन्दा कम रकममा सडक विस्तारको प्रस्ताव पेश गर्ने कम्पनीले निर्माणको जिम्मा पाउँनेछ । २०७८ पुसभित्रमा सडक विस्तार गर्ने कम्पनी छनोट गरेर निर्माण कार्य अघि बढाउने योजनाको लक्ष्य छ ।

प्याकेज ३ मलेखु–मुग्लिङ सडक निर्माणका लागि आवेदन दिएकाहरुको प्रारम्भिक मूल्यांकन भइरहेको रिमालले जानकारी दिए । मलेखु-मुग्लिङ खण्डको मूल्यांकन कात्तिकभित्र सम्पन्नगरी प्रारम्भिक रुपमा छनोट हुने कम्पनीसँग आर्थिक प्रस्ताव माग गर्ने तयारीमा योजना छ ।

बजार क्षेत्र ४ लेन, नागढुंगा–नैबिसे ३ लेन

योजनाले सडकलाई २ लेन, ३ लेन र ४ लेनमा स्तरोन्नति गर्नेछ । नागढुंगा-नौबिसे सडक खण्ड ३ लेनको हुनेछ । नागढुंगा–नौबिसे सडक खण्डमा सवारीसाधनले ठाडो उकालो चढाई गर्नुपर्ने हुन्छ ।

मालबहाक सवारीसाधनलाई ठाडो उकालो चढाईमा सहजता होस् भन्नका लागि एउटा थप डेडिकेटेड लेन विस्तार गरिनेछ । बस्ती तथा बजार भएका स्थानमा स्थानीय सवारीसाधन गुड्नका लागि सर्भिस लेन निर्माण गरिनेछ ।

सर्भिस लेनसहित बस्ती तथा बजार क्षेत्रका सडक ४ लेनको हुनेछ । पातलो बस्ती र पहाडी क्षेत्रको सडक भने २ लेनको हुनेछ ।

२१ पुल र १० आकाशे पुल

मुग्लिङ-नौबिसे सडकखण्डमा २१ ओटा पुल बन्नेछन् । पुल भने सबै चार लेनको हुने बताइएको छ । हाल सञ्चालनमा रहेका पुल नभत्काई सडकको चौडाई अनुसार नै छेउमा पुल निर्माण गरिनेछ । बजार क्षेत्रमा स्थानीयलाई सडक पार गर्न सहजता प्रदान गर्न १० वटा आकाशेपुल पनि निर्माण गरिनेछ ।

करिब १९ अर्ब लागत

नारायणघाट-मुग्लिङ खण्ड विस्तारसँगै मुग्लिङ-नागढुंगाको काम अघि बढाउन खोजिएको हो । मुग्लिङ-नारायणघाट सडक २०७५ जेठमा विस्तार भइसकेको छ । यो सडक विश्व बैंकको ऋण सहयोगमा दुई लेनमा विस्तार गरिएको छ ।

मुग्लिङ-नागढुंगा सडक पनि विश्व बैंकको ऋण सहयोगमा विस्तार गर्न लागिएको हो । सडक विस्तार गर्न विश्व बैंकले ऋण दिने सहमति भइसकेको छ ।

यो सडक स्तरोन्नति गर्न करिब १९ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । यसका लागि विश्व बैंकको सहयोगमा नपुग रकम नेपाल सरकारले खर्च गर्नुपर्नेछ । सडक स्तरोन्नति गर्न डिजाइन तयार पारिसकेको छ ।

परामर्शदाता आईसीटीले सडकको डिजाइन तयार गरेको हो । परामर्शदाताले सन् २०१८ मा सडक विभागलाई डिजाइन हस्तान्तरण गरिसकेको छ ।

‘मुग्लिन-नागढुंगा सडकको चौडा एक नासको छैन, कतै दुई लेन र केही साढे एक लेनको छ,’ रिमालले भने ‘विपरित दिशाबाट गुडेका सवारीसाधन सहज रुपमा पास हुनेगरी सडक विस्तार गर्न खोजिएको हो ।’

आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा संघीय सरकारले २ लेनभन्दा तलका सडक निर्माण नगर्ने उल्लेख छ । पृथ्वी राजमार्ग राष्ट्रिय सडक हो । यो संघीय सरकारको मातहतमा छ ।

सन् १९७४ मा निर्माण गरिएको राजमार्गको अधिकतम चौंडा २ लेनभन्दा सानो छ । काठमाडौं उपत्यका छिर्ने मुख्य सडकलाई एसियाली स्ट्यान्डर्डअनुसार विकास गर्न खोजिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स