तीन विकास बैंकसहित पाँच कम्पनी राष्ट्र बैंकको कारबाहीमा, को-को परे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन विकास बैंक सहित पाँच कम्पनीलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अनुगमनपछि राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले पाँच कम्पनीमाथि कानुनी तथा आर्थिक कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, पोखरा फाइनान्स र जानकी फाइनान्स रहेका छन् ।

जसमा, मुक्तिनाथ विकास बैंकका सञ्चालक समिति अध्यक्ष भरतराज ढकाललाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) अनुसार सचेत गराइएको छ । भवन निर्माण प्रयोजनका लागि गठित समितिमा संयोजकका रूपमा सहभागी भइ उनले एकीकृत निर्देशनमा तोकिएको सीमाभन्दा बाहिर भूमिका निर्वाह गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । 

नारायणी डेभलपमेन्ट बैंकको हकमा न्यूनतम चुक्ता पुँजी र पुँजीकोष अनुपात कायम नगरेको, सर्वसाधारणबाट संकलन गर्न पाउने निक्षेप सीमा भन्दा बढी रकम उठाएको, एकल ग्राहक कर्जाको सीमा नाघेको र वित्तीय स्रोत संकलनमा समेत नियम उल्लंघन गरेको पाइएको छ । यी आधारमा बैंकको सञ्चालक समितिलाई ऐनको दफा १०० को उपदफा (१) को खण्ड (ग) अनुसार लिखित आदेश दिइएको छ ।

सालपा विकास बैंकले तोकिएको न्यूनतम चुक्ता पुँजी अझै कायम नगरेको तथा राष्ट्र बैंकबाट पटक–पटक दिइएका निर्देशनहरूको पालना नगरेको पाइएको हुँदा सञ्चालक समितिलाई नसिहत दिइएको छ ।

पोखरा फाइनान्सले २०८१ माघ १३ देखि २६ सम्मको अवधिमा अनिवार्य मौज्दात रकम कायम नगरेको तथा समष्टिगत स्थलगत निरीक्षणको क्रममा तत्कालीन प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले आफ्नो जिम्मेवारी निर्वाह नगरेको पाइएकाले पाँच लाख रुपैयाँ जरिवाना गरिएको छ । संस्थामाथि पुँजीकोष अनुपात कमजोर रहेको, निष्क्रिय कर्जा ३३।४४ प्रतिशत पुगेको लगायत आधारमा शीघ्र सुधारात्मक कारबाही पनि थालिएको छ ।

जानकी फाइनान्सले पनि नियामकीय मापदण्ड अनुसारको पुँजीकोष अनुपात कायम गर्न नसकेको पाइएकोले सो संस्थामाथि पनि शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

हेडलाइन्स