क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँट,१ लाख ८४ हजार ५०० जनाले पाए १० कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले कम्पनीको आईपीओ आज बिहान बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा कुल १९ लाख ६५ हजार ८११ आवेदकबाट २ करोड २७ लाख ३९ हजार ६५० कित्ता सेयर खरिदका लागि आवेदन परेको क्यापिटलले जनाएको छ ।

यसमध्ये १९ लाख ५५ हजार ६८५ आवेदन सदर भएको र १० हजार १२६ आवेदन बदर भएको छ ।

कुल सदर आवेदकबाट २ करोड २५ लाख ८४ हजार ७७० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।

कुल सदर आवेदकमध्ये १ लाख ८४ हजार ५०० जनालाई १० कित्ताका दरले १८ लाख ४५ हजार कित्ता सेयर बाँडफाँट गरिएको छ भने बाँकी १७ लाख ७१ हजार १८५ जना आवेदकको हात खाली भएको छ ।

कम्पनीले फागुन २२ गतेदेखि फागुन २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले केयर रेटिङ नेपालबाट ‘इक्रा एनपी आईआर डबल बी ’रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व समयमै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ ।

आईपीओको नतिजा प्रकाशन भएको केही समयपछि यी तीन तरिकाबाट हेर्न सकिनेछ :

सीडीएसको वेबसाइट : https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइट : https://nmbcl.com.np/ipo

मेरो शेयरबाट : https://meroshare.cdsc.com.np/#/login

प्रतिक्रिया

हेडलाइन्स