काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थापक सेयरको खरिदबिक्री गर्न बैंकको स्वीकृति अनिवार्य गरेको छ । संस्थापक सेयरको खरिदबिक्री वा नामसारी गर्नु पूर्वस्वीकृति लिनुपर्ने र सञ्चालक समितिको सिफारिस तथा अन्य सेयरधनीको लिखित सहमतिसहित निवेदन दिनुपर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले आज भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरूलाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा संशोधन तथा परिमार्जन गरेको छ ।
जसमा भनिएको छ,‘ संस्थापक सेयरको खरिदरबिक्री वा नामसारी गर्नु पूर्व यस बैंकको स्वीकृति लिनुपर्ने छ । यस प्रकारको स्वीकृतिको लागि सञ्चालक समितिको सिफारिस तथा अन्य सेयरधनीको लिखित सहमतिसहित यस बैंकमा निवेदन दिनुपर्ने छ ।’
साथै कम्पनी ५ वर्ष नपुगेको खण्डमा सो अवधीसम्म संस्थापक सेयर खरिद बिक्रि गर्न नपाइने भनिएको छ ।
तर, आधुनिक प्रविधि भित्र्याउन पूँजी थप गर्नुपर्ने अवस्था वा दुई वा दुईभन्दा बढी संस्था एक आपसमा गाभिई नयाँ लगानीकर्ता थप गर्दा वा अन्य कुनै मनासिव कारणले संस्थापक सेयर खरिद/बिक्री गर्नुपर्ने औचित्य पुष्ट्याई हुने अवस्थामा बैंकको स्वीकृति लिई संस्थापक सेयर खरिद बिक्री गर्न सकिने छ ।
यसरी सेयर खरिद बिक्री गर्दा सम्पत्ति÷दायित्वको विस्तृत मूल्याङ्कन गरी प्रति कित्ता सेयर मूल्य निर्धारण गर्नुपर्ने उल्लेख गरिएको छ ।