काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटलको परिसरमा बाँडफाँट सम्पन्न भएको हो ।
उक्त आईपीओमा रितपूर्वक आवेदन दिने ४८ हजार ३१२ सय आवेदकमध्ये १८ हजार आवेदकलाई सेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।
कम्पनीले निष्काशनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि जारी गरेको थियो।
कम्पनीले ३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी अब बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ ।
बाँडफाँडमा परेका सेयरहरुको विवरण प्रभु क्यापिटलको वेबसाइट अथवा सिडीएससीबाट सञ्चालित वेबसाइटबाट हेर्न सकिन्छ ।
कम्पनीले गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ निष्काशन गरेको थियो ।