पशुपतिनगर भन्सारद्वारा एक करोड ३४ लाख राजस्व संकलन

काठमाडौं । इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को पुससम्म एक करोड ३४ लाख १३ हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यको ६९.९६ प्रतिशत हो । आव २०८०/०८१ मा भन्सारले एक करोड ९१ लाख ७१ हजार राजस्व संकलनको लक्ष्य लिएको थियो ।

यसैगरी आव २०७७/०७८ मा एक करोड ८९ लाख ९९ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले एक करोड दुई हजार राजस्व संकलन गरेको कार्यालय प्रमुख प्रविन सुब्बाले जानकारी दिए । यस्तै आव २०७८/०७९ मा दुई करोड ५३ लाख ४० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ८७ लाख ३८ हजार संकलन भएको थियो ।

कार्यालय प्रमुख सुब्बाका अनुसार आव २०७९/०८० मा दुई करोड ५० लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा दुई करोड ७१ लाख ८२ हजार संकलन गरिएको थियो । अवैध कारोबारअन्तर्गत बरामद भएको सामग्री लिलामीबाट सबैभन्दा बढी राजस्व संकलन भएको हो । पशुपतिनगर भन्सारअन्तर्गत आठ छोटी भन्सार कार्यालय रहे पनि ती सबै बन्द छन् ।

‘हरियो तरकारी, छुर्पी, दूध, चिया, घ्यू, चिज, गमला, लत्ताकपडा र जुत्ता चप्पल भारत निर्यात हुँदै आएको छ’, उनले भने ।

नेपालतर्फ भन्सार भए पनि भारतमा भन्सार कार्यालय नहुँदा समस्या भएको कार्यालय प्रमुख सुब्बाले बताए । खुला सीमानाका भएका कारण चोरी पैठारी रोक्न कठिनाइ भएको उनको भनाइ छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स