काठमाडौं । बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाँले चालु आर्थिक वर्षको वैशाख पहिलो सातासम्ममा ७ करोड ३६ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको छ ।
कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले संकलन गर्ने राजस्व पछिल्लो समय उत्साहजनक ढंगले वृद्धि भइरहेको र यस अवधिसम्म सात करोड ३६ लाख ५७ हजार ६७५ रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए ।
‘कार्यालयले साउनदेखि माघको पहिलो सातासम्म चार करोड ३० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यसयता वैशाखको पहिलो सातासम्म रु तीन करोड छ लाख ५५ हजार राजस्व संकलन भएको छ । पछिल्ला महिनामा राजस्व संकलनको दर क्रमशः वृद्धि हुँदै गइरहेको छ’, उनले भने ।
कार्यालयका अनुसार तीन महिनायता प्रतिमहिना औसतमा रु एक करोड दुई लाख रकम राजस्व संकलन हुँदै आएको छ । कार्यालयले आन्तरिक सुशासन र सेवाप्रवाहलाई चुस्त बनाएसँगै राजस्व संकलन बढेको जनाएको छ ।
यस रकममध्ये सबैभन्दा धेरै राजस्व चालक अनुमतिपत्र, सवारीदर्ता किताबसम्बन्धी दस्तुरबाट तीन करोड ५४ लाख ४० हजार ५६ र सवारीसाधन करबाट तीन करोड ४० लाख ३९ हजार ९४३ रकम राजस्व संकलन भएको छ ।
यातायात क्षेत्रको आम्दानीबापत ४० लाख ८४ हजार ५४० राजस्व संकलन भएको कार्यालयले जनाएको छ । अन्य प्रशासनिक सेवा शुल्कबापत २५ हजार ५०० रुपैयाँ र बेरुजुबापत ६७ हजार ३३६ रकम संकलन भएको छ । कार्यालयले चालु आवमा करिब १० करोड राजस्व संकलन हुने अनुमान गरेको छ ।