मोतीलाल दुगड ।
नेपालले धेरै व्यवस्थाको अनुभव गरेको छ । इतिहासको पाना पल्टाउदा नेपाली जनताले सधै परिवर्तन खोज्दै आएका छन् र चाहेको व्यवस्था ल्याएका पनि छन् ।
जनताले जति परिवर्तन खोजे त्यसमा आफ्नो अधिकारकै लागि धेरै लडेका छन् । सुरुमा जनताहरुले अधिकार पाउनको लागि त्याग तपस्या गरेका थिए भने पछिल्लो लडाइ जनता आफूहरुले नै शासन सत्ता चलाउन पर्छ अर्थात् आफूले चयन गरेको मान्छे नै मुख्य जिम्मेवारीमा हुनुपर्छ भन्ने थियो ।
त्यो पुरा भयो । अर्थात् २०६३ सालमा नेपालमा गणतन्त्रको स्थापना भयो ।
जसले सबै नेपालीको सपना पनि साकार भयो । विश्वकै कम मुलुकमा नेपाल पर्छ कि यहाँ स्वतन्त्रता चरमरुप छ । हामीले चाहेको काम गर्न सक्ने व्यवस्था यहि छ , चाहेको कुरा बोल्न सक्ने अधिकार यहि छ । धेरै विकसित भनिएका मुलुकमा नभएको स्वतन्त्रता नेपालमा कार्यान्वयन रहेको छ ।
जनताले चाहेको व्यक्ति मात्रै शासन सत्तामा पुग्छन् । जनताले नचाएको खण्डमा जो कोहि पनि पाखा लाग्न सक्छ । यो नै गणतन्त्रको सुन्दरता छ ।
धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने एवम् राष्ट्रिय गौरव, लोकतन्त्र, जनपक्षीयता, श्रमको सम्मान, उद्यमशीलता, अनुशासन, मर्यादा र सहिष्णुतामा आधारित सामाजिक सांस्कृतिक मूल्यको विकास गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक सद्भाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्देश्य हुनेछ भनी संविधानमै लेखिएको छ ।
यसको मतलव के हो भने नेपालमा अब हक अधिकारको लािग बोल्ने ठाउँ नै छैन भनि भन्न खोजिएको हैन । आफ्नो अधिकारको लागि हामी जस्तो सुकै ठाउँमा उभिएर पनि निर्धक्क बोल्न सक्छौं । र अहिले बोली पनि रहेका छौं ।
यति हुँदा हुँदै पनि राज्यबाट आशा गरे अनुरुप नै काम नभएको होला तर यो हैन कि काम नै नभएको भने होइन ।
यो विषयलाई यसरी लिन सकिन्छ कि–लामो समय थलिएको बिरामीलाई उपचार सुरु गर्दा ‘रिभकरी’को लागि समय लाग्छ । बिरामी तंग्रेर लय समात्न पर्खिनुको विकल्प हुँदैन ।
त्यस्तैगरी अहिले नेपालले पनि आफ्नो व्यवस्थापन र विकासको लागि लय समात्न सकेको छैन ।
गणतन्त्र स्थापना भएको अवधि पनि निकै भैसक्यो तर पनि नेपाल लामो सयमदेखि थलिएर रहेको छ । त्यो अवस्थाबाट तंग्रनको लागि समय मात्र लागेको हो ।
यसमा निराश हुन पर्ने केहि पनि छैन । आगामी दिन आशावादी नै छ ।
काम नभएका पनि हैनन् विकास निर्माणको काम धेरै भएका छन् ।
२०७२ सालको भूकम्प, नेपालले भोगेको नाकाबन्दी र कोरोना काललाई निकै छिट्टो परास्त गर्नु नेपालको लागि निकै ठूलो चुनौतीको विषय थियो ।
भूकम्प पछि संरचना निर्माण सुरु गरेको नेपाललाई नाकाबन्दीले निकै ठूलो चोट पर्यो । तर पनि त्यसलाई पार गर्दै नेपालले पुर्ननिर्माणको काम लयमा समात्यो ।
कोरोना काललाई दुःख सुख झेलेको नेपालले त्यसमा टिक्कको लागि राज्यले ठूलै मेहेनत गर्नुपर्यो ।
कोरोनाकै प्रभाव अहिले पनि देखिन्छ । तर पनि राज्यले आवश्यक नीति र प्रोत्साहनको विषय उठाइरहेको छ ।
तर यहि समयलाई मौकाको रुपमा हेरेर केहि सीमित व्यक्तिहरु चलखेलको बाटोमा लागेको स्पष्ट हुन्छ ।
उनीहरुले राजा फर्काउन भन्दै चलखेल सुरु गरेका हुन् । राजा पर्काउने प्रशंगमा उनीहरुले गर्न खोजेको र सर्वसाधारणले बुझ्नुपर्ने विषय यो हो कि अहिले अर्थतन्त्र थोरै लयमा नआउँदा निराश भएकाहरुलाई प्रयोग गर्न खोजिएको हो ।
उनीहरुलाई अहिलेको शासन व्यवस्थाको कारण नै यो अवस्था आउन पुगेको हो भन्ने र ‘कन्भिन्स’ गर्ने प्रयत्न हुँदैछ ।
अहिले जुन राजालाई फर्काउन खोजिएको छ, ती नदेखेका राजा पनि होइनन् जनताले नभोगेका राजा पनि होइनन् ।
राजा फर्काउने भन्दै दुई चार जना हिडेका छन् । तिनीहरुको पृष्ठभूमि र अहिलेको अवस्था मूल्याङ्कन गर्नुपर्छ ।
केहि राजा फर्काउने अभियानमा लागेकाहरु पूर्व राजाका आसेपासे छन् । राजाको चाकडी गरेकै भरमा पद र सेवा सुविधा पाएका व्यक्तिहरु देखिन्छन् । त्यस्तै गरि अर्को राजा फर्काउने अभियानमा लागेकाहरु केहिलाई हेर्न हो भने उनी आफ्नो व्यापार व्यवसाय टिकाउन नसकेर राजाबाट केहि आशा गरेर गएका छन् । आफ्नो पारिवारिक स्थिति, सामाजिक स्थिति र आर्थिक स्थिति बिग्रिएपछि त्यता तर्फ गएको देखिन्छ ।
पूर्वराजा ज्ञानेन्द्रले पनि पछिल्लो समय उनीहरुलाई हौसाउँदै लगेका छन् । त्यसले पूर्वराजालाई नै क्षति हुने देखिन्छ ।
अहिलेको जस्तो स्वतन्त्रा र जनताको आफ्नै शासन व्यवस्थालाई नै राम्रो छैन भन्ने विषय आफैमा गलत छ । अहिले जुन व्यवस्था नेपालमा छ, त्यो विश्वको जो केहिले पनि चाहने व्यवस्था हो । हामी सबैले दुख गरेर ल्याएको यो व्यवस्थाको कुनै विकल्प छैन ।