नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) को आवेदन खुलेको छ । एक पटक दिएको अवधि सकिएर पनि दोस्रो पटकको लागि मिति थप भएको छ ।
फागुन १२ गतेदेखि १८ गतेसम्मको लागि आवेदन खुलाइएकोमा पुनः एक हप्ताको लागि म्याद थप गरिएको हो ।
समय थप भएको पनि ४ दिन भयो । तर, अहिलेसम्म आवेदन एक जनाको मात्रै परेको छ ।
हामी रिर्पोटिङमा हिड्दा तथा भेटघाट गर्दा समेत सरकारी निकायमा जाने चाहना राख्ने गरेका व्यक्तिहरु धेरै नै देखिन्थे ।
सरकारी निकायमा नियुक्त हुन्छु भनेर धेरैले आफ्नो विज्ञता तथा अनुभव समेत थप गरिरहेको भेटिन्थे ।
यद्यपि ती चाहना राख्नेहरु पछिल्लो सरकारको नीतिलाई मनन गर्दा आफू स्पष्ट भैसकेको बताउन थालेका छन् । आवेदन दिएकै आधारमा र योग्यता राम्रो भएकै आधारमा कुनै पनि व्यक्ति नियुक्ति हुँदैनन् । यो उनीहरुको भनाइ हो ।
सरकारी निकायमा काम गर्न चाहना राख्ने जो केहिले पनि ती कुरालाई मनन् गरेको देखिन्छ ।
जसको कारणले चाहना राख्नेहरु नेप्सेमा आवेदन दिन आएनन् । यो एक तर्फी रुपमा हेर्ने हो भने लाज पसारो बनेको छ ।
हुन त पछिल्लो समय अर्थमन्त्री र अर्थ मन्त्रालयको टिम आवेदन देउ भनेर मान्छे खोजिरहेको छ ।
आफ्ना नजिकका तथा योग्यता पुगेका व्यक्तिलाई कागजात मिलाएर आवेदन मात्रै भएपनि देउ न भनिरहेको छ ।
यहाँ भन्दा नराम्रो पक्ष के हुन सक्ला ?
नेप्सेमा थपिएकै मितिमा कम्तिमा ४ जना पुर्याउने अठोटका साथ अर्थमन्त्री र उनका टिमले काम गरिरहेको छ । सायद आवेदन संख्या पुर्याउन सफलता हासिल गर्ला नै ।
अझ भनौ, अर्थ मन्त्रालयको टिम अहिले नेप्सेको सीईओका लागि आवश्यक योग्यता अर्थात् अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल भएको सर्टिफिकेट मात्रै खोजिरहेको छ ।
मिति सकिने दिनको चर्चा कति संख्याले आवेदन दियो त्यो हुँदैन ।
कस्ता–कस्ता व्यक्तिले चाहना राखे त ? यस विषय भने मूल एजेण्डा बन्ने नै छ ।
खैर, अबको केहि दिनमै नेप्सेले भने नयाँ सीईओ पाउने नै छ । जो कामको लागि अयोग्य नै छ भन्न मिल्दैन । योग्य नै पनि आउन सक्छन् ।
नेप्सको नियुक्तिसँगसँगै जोडिएकोे अर्को महत्वपूर्ण निकाय हो, नेपाल राष्ट्र बैंक । नेपाल राष्ट्र बैंकको गर्भनर महाप्रसाद अधिकारीको चैत अन्तिम साता सुरु हुने वित्तिकै अवधि सकिदैछ ।
सम्भवत यहि सरकारले नयाँ गभर्नर समेत ल्याउँदैछ ।
तर, नयाँ गभर्नरको लागि धेरै चाहना रहेको भन्दै सामाजिक संजाल रंगिए ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमास लाग्ने वित्तिकै धेरै व्यक्तिहरुको फोटोलाई ‘कोलाज’ गर्दै सामाजिक संजाल भरियो ।
सामाजिक संजालमा धेरैले राखेको नामावली हेर्दा राष्ट्र बैंकमै काम गरेका, बैंकिङ क्षेत्रमा काम गरेका तथा अन्य सरकारी निकायको जिम्मेवारीबाट रिटायर्ड भएकाहरु देखिन्थे ।
जतिको नाम आएको छ, ती सबै आफ्नो हिसाबमा ख्याती पाएकै व्यक्तिहरु छन् । अर्थात् उनीहरु जीवनको सफलता पाएका व्यक्तिहरु छन् । जसले राष्ट्र बैंकको गभर्नरको भूमिकामा राम्रो गर्न नसक्लान् भन्न मिल्दैन ।
नियुक्ति पनि त्यहि व्यक्तिहरुबाट हुने संभावना पनि छ ।
तर समस्या पहिले नै निक्र्यौल त भैसकेको छैन ? प्रश्न यहाँनेर छ ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको समयमा त आवेदन पर्ने वित्तिकै यहि व्यक्ति हुन्छ भन्ने निक्र्यौल भएको विषय बाहिरिएको थियो तर हुन पनि त्यहि व्यक्ति भए ।
अहिलेसम्म जहाँ जुन व्यक्ति आए र आउँदैछन् । संभवत योग्यता पुगेकै छन् र पुगेका आउने छन् भन्ने आशा गर्न सकिन्छ ।
यसमा जोड्न सकिने दुई विषय मात्रै छन् । पहिलो विषय सरकारबाटै आयोजनालाई ठेकेदारको जिम्मा लगाए झै सार्वजनिक निकायको नियुक्तिलाई सुम्पिन थालियो ।
काम लिनेको भन्दा काम दिनेको दोष धेरै छन् । बाहिर आएका कमेन्टहरु हेर्दा कुनै व्यक्तिले नियुक्त गर्योे, त्यो माफिया यो विचौलिया भन्ने शब्द देखिन्छ । सिधा सिधा उसैलाई मात्रै दोषी देखाइन्छ ।
तर, यहाँ सरकारमा रहेकाहरुले नै यो निकायमा को व्यक्ति लाने निर्धारण गर्ने तपाईको जिम्मा प्रतिफल हामीलाई भन्ने धारबाट नोगोसेशन चलिरहेको छ ।
जिम्मेवारी पाउने सबै ठाउँमा एकै व्यक्ति वा कम्पनी मात्रै नहुन सक्छ । अर्थात् ठेकेदार चयन सरकारले फरक फरक पार्न सक्छ तर तरिका भने एकै छ । यो विगतदेखि नै थियो र अहिले अलि सतहमा आएको देखिन्छ ।
दास्रो विषय भनेको यसरी दिइने ठेक्का सतहमा आउँदा हुने बेफाइदाहरु हुन्छन् ।
त्यसबाट भने राज्यले र जनताले समेत सास्ती ब्यहोर्नुपर्ने हुन्छ ।
ठेक्का मै व्यक्ति निर्धारण हुन्छ भनेर धेरै आवेदन नै आउँदैन । पूर्ववत् लगाइएको काम गर्न नचाहनेहरु ठेकेदारसम्म पनि पुग्दैनन् ।
जसकारण गतिशिल व्यक्तिहरुको अभाव महसुस हुनसक्छ ।
नेपाल राष्ट्र बैंकको हकमा यस्तो नेगोसेशन चाल पाइसकेका र सामाजिक संजालको कोलाज फोटो मै देखिएका धेरैले अहिले आफ्नो चाहना नै त्यागिसकेका छन् ।
कोलाज भएका एकको भनाइ छ, ‘हजुर म त नयाँ पुस्तक पढ्न थालेको छु ।’