मेरा पुर्खाले पसिना बगाएको
जीवनका अनेक सपना सजाएको
अनकन्टार गाउँको
विकट ठाउँमा अवस्थित
कुनै वेलाको सुन्दर संरचना
खण्डहरमा रूपान्तरण भएको छ
मेरो घर।
खण्डहर घर,
जीर्ण-जीर्ण अवस्थामा ठडिएको,
भर्याङ जर्जर छ
झ्याल-ढोका मक्किएका छन्,
दलिन धमिराले खाएर भाँचिएको छ,
करेसातिरको पर्खाल लडेको छ,
छानो र बरन्डामा झारपात उम्रिएका छन्
बलेंसी र आँगनमा पूरै बुट्यानले भरिएको छ,
कुरूप भएको छ मेरो घर
दुरुस्तै मेरो देश जस्तै।
घर सुन्दर भए देश सुन्दर
देश सुन्दर भए घर यसै सुन्दर,
कुनै वेलाको ज्यादै सुन्दर मेरो घर-
जग मक्किएको छ,
पेटी भत्किएको छ,
दुरुस्तै मेरो देशको प्रगति भत्किए जस्तै।
खण्डहर देशभित्रको खण्डहर घर
खण्डहर घरहरूले भरिएको खण्डहर देश,
सुन्दर देश खण्डहर छ-
प्रणाली भत्केपछि,
राज्यको क्षमता कमजोर भएपछि,
समानता, समता, सुशासन, न्याय र नैतिकता
कागजमा मात्र टाँस्सिएपछि,
असमानता, विभेद हलक्कै बढेपछि,
भेदभाव, सानो-ठूलो, आफ्नो-पराई छुट्याएपछि,
समाज र देशको स्वार्थ गौण बनेपछि,
राष्ट्र-प्रेमको खोलभित्र नीजि स्वार्थ फस्टाएपछि,
देश पनि खण्डहर बन्दो रहेछ
दुरुस्तै मेरो पुरानो जीर्ण घरजस्तै।
मैले घर छोडें-
घरको स्याहारसुसार गरिन,
घरप्रतिको माया, अपनत्व, भावना गयो
मैले घर बिर्सेपछि-
घर जीर्ण भयो, खण्डहर भयो
देशको समृद्धि र उन्नतिले बाटो बिराउदा,
अकर्मण्यता बढ्दा,
देशप्रतिको कर्तव्य विर्सिदा,
नागरिकको भरोसा टुट्दा,
उहिले हिरोसिमा र नागासाकीमा बम पट्किए झै,
नागरिकका मन/आशा/भरोसा पट्किएपछि,
लट्टाईबाट चङ्गा चुडिएझै विश्वास चुडिएपछि,
खोलामा पानी बगेजस्तै सपना बगेपछि,
धैर्यताको बाँध भत्केपछि,
देश खण्डहर बन्दो रहेछ।
देशमा-
मूल्य-मान्यता हराएपछि,
देशप्रतिको वफादारितामा खिया लागेपछि,
देशलाई दिने भन्दा लिनेको भीड बढेपछि,
देश खण्डहर जस्तो लाग्दो रहेछ।
देश- मनको हुन्छ,
देश- आशा र भरोसाको हुन्छ,
देश- विश्वासको हुन्छ,
देश- नागरिकको प्रेमको हुन्छ,
देश- देशवासीको अपनत्व र स्वामित्वको हुन्छ।
देश हुनको आभास नभएपछि
मन, वचन, आशा, भरोसा
र, विश्वासबाट टाढिदै गएपछि,
आड-भरोसामा पहिरो गएपछि,
देश खण्डहर देखिने रहेछ ।
गाउँमा मेरो खण्डहर घर खाली छ,
गाउँ खाली छ,
विश्वास र भरोसा टुटेपछि देश खाली छ।
खण्डहर घरमा जीवन्तता अङ्कुराउँदैन,
खण्डहर देशमा सम्भावना सलबलाउँदैन,
जब बढ्छ-
कुण्ठा, वितृष्णा, अनिश्चितता र आक्रोश,
अनि बन्छ देश खण्डहर।
दुरुस्त मेरो गाउँको छोडेको जीर्ण घरजस्तै।
देश जस्तै सम्झनामा मेरो घर छ
घर जस्तै मुटुमा मेरो देश छ।।