जुन दिन तिमी साथमा आयौ सारा खुशी बोकी
लागेको थ्यो त्यही दिनमा भाग्य फर्क्या हो कि।।
ममताकी खानी तिमी शितल दिने जून
तिमीले नै पारेकी छ्यौ हराभरा मन।
कहिले बन्ने गुरु तिमी कहिले बन्ने साथी
सुकोमल दिल तिम्रो संस्कार झनै माथि।।
सुन्दर पार्न जीवन मेरो आयौ आशा बोकी
भाग्य दिन विधाताले पठाएकै हो कि!!
गुण तिम्रा कति कति बयान कति गरूँ
तिमी जस्तै असल बन्न सकिन कि बरू
मेरै भलो होस् भनी सोच्ने तिमी जहिले
तिम्रा पनि रहर होलान् बुझिन कि मैले।।
सजाउन जीवन मेरो आयौ हाँसो बोकी
मगमगायो जिन्दगी नि वास्ना छर्या हो कि!!