मेरा बा,
अग्ला, खाइलाग्दा र बलवान्
गाउँमा खूव चिनिएका
निडर, शक्तिशाली र पौरखका प्रतीक।
विरोधी दशजनाले धकेल्नसम्म नसकेको ढुङ्गा
मेरा “बा” ले एक्लै हातले उचाल्ने
फूल उचाले जस्तै!
विरोधी गाउँका सबैलाई एक्लै लखेट्न सक्ने,
घँगारू/बेत/लैसको डिङ्नो हातमा लिएर
लडाइको अग्र स्थानमा मेरा बा उभिँदा
विरोधी लडाइ नगरेरै सुइँकुच्चा ठोक्ने।
मेरा बा,
लडाइका रण-कौशलका ज्ञाता
चौवीस हाता खेल्न सक्ने कुशल लडाकु/योद्धा,
सिर्जनामा निपुण,
कलाका कालीगढ
काष्टकलाका शिल्पी
मेरा “बा” ले हातमा छिनो र बसुलो लिए
काठमा उत्कृष्ट बुट्टा बन्ने,
आँखीझ्याल, ढोका र मूर्तिले आकार पाउने।
मेरा बा-
गाउँमा निस्वार्थ काम गर्ने,
गाउँमा अन्याय, थिचोमिचो हुन नदिने,
अर्को गाउँको आक्रमण हुन नदिने
गाउँको साँध-सिमानाको रक्षक
गाउँका अभिभावक
सबैका आदरपात्र
र, सबैका संरक्षक।
बा, तपाईलाई सारा गाउँले चिन्थ्यो,
मलाई कसैले चिन्दैन।
तपाई गाउँलाई संरक्षण गर्नुहुन्थ्यो,
म मेरो समाज र देश संरक्षण त परको कुरा
म आफैलाई संरक्षण गर्न सक्दिन।
खै किन हो,
हिमाल अलि यता सर्दा
तराईमा अरूको पाइलो पर्दा,
छद्मवेशीको रजगज बढ्दा
आखै अगाडि स्वाभिमान ढल्दा
अनि समाजमा थिचोमिचो बढ्दा
अन्याय, शोषण, बेथितिको पारो चढ्दा
सबै टुलुटुलु हेरेर बसेको छु निर्लज्ज!
बोल्ने आँट छैन
लड्ने बल छैन।
बा, तपाईले गाउँ कब्जा हुन दिनुभएन
म आफै कब्जामा छु
अझ, सबैथोक कब्जा भएको हेरेर बसेको छु।
बा, तपाई पौरखी,
आफ्नो बाहुबलले आफ्ना आवश्यकता पूरा गर्ने,
म परनिर्भर,
मैले फेर्ने सास पनि अरूले ल्याइदिनुपर्ने।
मेरा बा,
दुई/चार मुरी अन्नका भारी एक्लै बोक्ने।
म भने माटोप्रतिको माया पनि बोक्न नसक्ने!
देश बनाउने सोच धान्न नसक्ने!
मेरा बा,
शक्तिशाली र गर्विलो व्यक्ति,
म छोरा किन यति निरिह र कमजोर?
बोल्नुपर्ने कुरा बोल्न नसक्ने म,
लेख्नुपर्ने कुरा लेख्न डराउने म,
गर्नुपर्ने काम गर्न नसक्ने म।
डरले हो कि लाजले
कि कतै निहित स्वार्थले,
कसैको लागि केही गर्न नसक्ने म।
समय वितिरहेको छ
निरन्तर सेकेण्ड, मिनेट, घण्टा, दिन
अनि वर्ष भएर,
म अचल छु।
नदीमा पानी बगिरहेको छ अविरल
हावा चलिरहेको छ द्रुत गतिमा,
म भने जहाँको त्यही अटल/स्थिर छु।
देशको लागि निस्स्वार्थभावले खट्नुपर्ने म,
गर्नुपर्ने काम/जिम्मेवारीको रास हेर्दै
चुपचाप चुपचाप बसिरहेको छु शालिक जस्तै,।
बरू चट्टान बोल्ला- म बोल्दिन
उन्यू फुल्ला- म खुल्दिन
ढुङ्गा पग्लिएला- अहँ, म पग्लिन्न,
त्यस्तो गर्विलो, निडर र बलवान् “बा” को छोरा,
आखिर किन सबै कुरामा कमजोर/निरिह!
खै किन हो,
बा! म तपाई जस्तो हुन सकिन।