काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकार बनेको एक महिनामा नै गत वर्षको तुलनामा राजस्व संकलन २० प्रतिशतले बढेको बताएका छन् । शुक्रबार नेपाल उद्योग तथा व्यवसायी संघले काठमाडौंमा आयोजना गरेको र्काक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
‘सरकारले अगाडि सारेको योजनाले समग्र अर्थतन्त्र सकारात्मक बन्दै गएको छ । यो सरकारले क्रमशः अर्थतन्त्रका प्रतिकुलतालाई अनुकुलतामा ल्याउने काम गरिरहेको छ।’ अर्थमन्त्री पौडेलले भने, ‘अहिले पनि अर्थतन्त्र शिथिलताबाट बाहिर आइसकेको छैन। एक महिनाको कामले पनि अर्थतन्त्र पूर्णरुपमा सुधार नभएकाले यसलाई विस्तारै सुधार गर्दै जानुपर्ने छ।’
उनले सरकारले निजी क्षेत्रका सबै समस्या समाधान गर्दै जाने बताए। ‘ हिजो निजी क्षेत्रसँग समस्या थिए होलान् तर, अब अगाडि समाधान छ। तपाईहरुको अगाडि स्थिर र काम गर्ने सरकार छ,’ अर्थमन्त्री पौडेलले भने, ‘ यसर्थ निजी क्षेत्रले कुनै चिन्ता लिनुपर्ने अवस्था छैन। अब निजी क्षेत्रलाई आत्मविश्वास बलियो बनाएर अगाडी बढ्न आग्रह गर्दछु।’ उनले सबै क्षेत्रको निरासा चिरेर सरकार अगाडि बढ्ने पौडेलको भनाइ छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीलाई भुक्तानीका लागि रितपूर्वक जान आग्रह गरेका छन्। सरकारले निजि क्षेत्रलाई भुक्तानी दिनुपर्ने रकम बाँकी नराख्ने भन्दै भुक्तानीका लागि रित पूर्वक जान आग्रह गरेका हुन्। उनले हालपनि निर्माण व्यवसायीको भुक्तानी लगातार भइरहेकोले उक्त भुक्तानी नरोकिने बताए।