चालु आवमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने, प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुग्ने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण २०८०/८१ संसदमा प्रस्तुत गरेका छन् ।

नेपाली कांग्रेसको विरोधका बीच अर्थमन्त्री पुनले चालु आर्थिक वर्षको अर्थतन्त्रको अवस्था समेटिएको दस्तावेज संसदमा प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण पेस गर्दै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान प्रस्तुत गरेका छन् । उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रमा आएको संकुचनबीच कृषि र सेवा क्षेत्रमा भएको विस्तारका कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको उनले बताए ।

अर्थमन्त्री पुनले मुलुकको आर्थिक सामाजिक परिसूचकमा सुधार हुँदै गएको बताए ।

अर्थमन्त्री पुनले प्रदेशगत रुपमा गण्डकी, बागमती र लुम्बिनीको आर्थिक वृद्धिदर राष्ट्रिय औषतभन्दा माथि रहने अनुमान गरिएको बताउँदै चालु आवमा कूल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान गरिएको जानकारी दिए ।

अर्थमन्त्री पुनले भने, ‘गत आर्थिक वर्षको पूरा अवधि र चालुको आवको आठ महिनासम्मको संघ, प्रदेश र स्थानीय तहको समग्र आर्थिक, सामाजिक, क्षेत्रगत विकास तथा सुशासनको चित्रण तथा विश्लेषण गरिएको छ ।’ मुलुकको आर्थिक, सामाजिक परिसूचकमा सुधार हुँदै गएको उल्लेख गर्दै उनले उत्पादनमूलक, उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको सङ्कुचनको बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारले मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको जानकारी दिए ।

राजस्व परिचानलमा क्रमशः सुधार हुँदै गएको उनले बताए ।

अर्थमन्त्री पुनले चालु आवको फागुनसम्म संघीय सरकारको राजस्व संकलन ९.७ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब पाँच करोड पुगेको जानकारी दिँदै यस अवधिमा संघीय खर्च २.९ प्रतिशतले वृद्धि भई ८ खर्ब एक अर्ब ५८ करोड पुगेको उल्लेख गरे ।

‘विसं २०८० फागुनसम्म कूल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको छ । कूल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशत रहेको छ’, अर्थमन्त्री पुनले भने, ‘आव २०७९/८० मा प्रदेश र स्थानीय तहले संघबाट भएको वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ९७ अर्ब २६ करोड र राजस्व बाँडफाँडमार्फत एक खर्ब २० अर्ब २६ करोड गरी ५ खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेका छन् ।’

वित्तीय क्षेत्र सुधार हुँदै गएको बताउँदै उनले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र निक्षेप एवम् कर्जाको व्यापार दर घट्दै गएको उल्लेख गरे । चालु आवको फागुनसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको उनले जानकारी दिए ।

अर्थमन्त्री पुनले बैंक तथा वित्तीय संस्थाको सञ्जालमा विस्तार, विद्युतीय माध्यमबाट हुने कारोबार, वित्तीय साक्षरता प्रवर्द्धनसँगै प्रतिशाखा जनसङ्ख्या दुई हजार पाँच सय १५ पुगेको जानकारी दिए ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स