काठमाडौं । राष्ट्रिय तथ्याङ सर्वेक्षण अनुसार नेपालमा हाल थोक तथा खुद्रा व्यापार गर्ने जम्मा ४ लाख ९८ हजार ५८ व्यवपारिक प्रतिष्ठानहरू छन् । सबै भन्दा बढि बागमती प्रदेशमा १ लाख ४४ हजार ४४० व्यवपारिक प्रतिष्ठानको संख्या रहेको छ ।
त्यसैगरी दोस्रो नम्बरमा कोशी प्रदेशमा ८९ हजार २३ व्यापारी प्रतिष्ठानको संख्या पुगेको छ भने तेस्रो नम्बरमा लूम्बिनी प्रदेशमा ८३ हजार ६७२ व्यापारिक प्रतिष्ठानको संख्या रहेको छ । यता मधेश प्रदेशमा ७८ हजार २२२, गण्डकीमा ५० हजार ५७५, सुदुरपश्चिमा ३३ हजार ४९८ व्यापारिक संख्या रहेको नेपाल व्यापार सर्वेक्षण्काको तथ्याङकमा उल्लेख गरिएको छ ।
सर्वेक्षण अनुसार करीब ६८ प्रतिशत विभिन्न प्रकारको सरकारी निकायमा दर्ता भएका छन् भने ३२ प्रतिशत प्रतिष्ठानहरु दर्ता नगरी संचालन भईरहेका छन् । यस क्षेत्रमा जम्मा ११ लाख ३० हजार ६४५ जना मानिसहरु संलग्न छन् । जसमध्ये महिला ४ लाख ३ हजार ९६४ जना अर्थत ३६ प्रतिशत र पुरुष ७ लाख २६ हजार ६८१ जना अर्थत ६४ प्रतिशत रहेका छन् ।
यसलाई सय प्रतिष्ठानमा हेर्दा औसत १४६ जना पुरुष र ८१ जना महिला रोजगारीमा रहेको देखियो भने एक प्रतिष्ठानमा औसतमा २ जना कामदार कार्यरत रहेका पाईयो । यसै गरि यस क्षेत्रमा संलग्न जम्मा कामदारहरु मध्ये तलब ज्याला र अन्य सुविधा पाउने कामदारहरुको संख्या २ लाख १९ हजार ५५१ रहेको छ । जसमा महिला ४५ हजार ९ जना अर्थत २०.५० प्रतिशत र पुरुष १ लाख ७४ हजार ५४२ जना अर्थत ६०.६० प्रतिशत रहेको देखियो ।
सर्वेक्षणले यस क्षेत्रमा तलव ज्याला र अन्य सुविधा लिई काम गर्ने भन्दा तलव ज्याला र अन्य सुविधा नलिई (परिवारका सदस्य) काममा संलग्न रहेका व्यक्तिको संख्या बढि रहेको देखिएको छ। त्यस्तै तलवी कामदार भएका व्यापारिक प्रतिष्ठानको तलव ज्याला र अन्य सुविधामा प्रति प्रतिष्ठान औसत वार्षिक ६ लाख ४ हजार ९१२ खर्च भएको देखिएको छ भने प्रति कामदार औसत बार्षिक २ लाख ८ हजार ४९४ खर्च देखिन्छ ।
नेपालस्तरिय औद्योगिक वर्गिकरणको मुख्य विभाजन ४५ मोटर, मोटरसाईकल आदिको थोक तथा खुद्रा बिक्री र मर्मत ४६ थोक व्यापार (मोटर, मोटरसाईकल बाहेक) ४७ खुद्रा व्यापार (मोटर, मोटरसाईकल बाहेक) मा क्रमश २४ प्रतिशत, १३ प्रतिशत र १८ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षण अनुसार व्यापारिक प्रतिष्ठानको आफ्नो मुख्य कार्यबाहेक अन्य क्रियाकलापबाट जम्मा २.४ अर्ब अन्य अम्दानी भएको पाइयो र प्रति प्रतिष्ठान औसत अन्य अम्दानी ६९ हजार पाइयो। त्यसै गरि व्यापारिक प्रतिष्ठानको संचालन खर्च एक सय ३३ अर्ब र प्रति प्रतिष्ठान औसत संचालन खर्च दुई सय ६४ हजार देखिएको छ ।