काठमाडौं । संसदीय समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधारको लागि प्रतिवेदनहरु यथाशिघ्र समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकले सो निगम तथा विमानस्थलहरुको सुधारका लागि हालसम्म भएको अध्ययन, अनुसन्धानसम्बन्धि सम्पूर्ण प्रतिवेदन पेश गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
समितिको बैठकमा भएको छलफलको आधारमा निगम र विमानस्थलहरुको सुधार सम्बन्धी हालसम्मको अध्ययन प्रतिवेदन छिटो भन्दा छिटो समितिमा पेश गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति राजकिशोर यादवले बताए ।
सभापति राजकिशोर यादवले भने , ‘ यो भन्दा अगाडिको बैठकमा मन्त्रीले नै नागरिक उडड्यनसम्बन्धि विधेयक क्याविनेटमा पठाइसकिएको जानकारी गराएको स्थिति छ । हाम्रो सचिवालयले प्रधानमन्त्री कार्यालयको विधेयक हेर्ने शाखामा त्यो विधेयकबारे चासो राख्दा स्पष्ट जवाफ आएको छैन । त्यसैले मन्त्रालयले त्यो विधेयकको स्थितिको बारेमा के हो रु मन्त्रालय कुन दिनमा निर्णय गरेर त्यहाँ पठाएको हो, त्यो डेट सहित यो समितिमा उपलब्ध हुनुपर्यो ।’
समितिले प्रधानमन्त्री कार्यालयको विधेयक शाखामा अड्केर बसेको नागरिक उडड्यनसम्बन्धि विधेयकबारे गम्भिर चासो व्यक्त गर्दै त्यसको अवस्थाबारे पनि समितिलाई जानकारी गराउन सरकारलाई सचेत गराएको छ ।