गोदावरी नगरपालिकामा जैविक प्रविधि मार्फत पहिरो नियन्त्रणको सुरुवात

गोदावरी । ललितपुर स्थित गोदावरी नगरपालिकाले जैविक प्रविधि मार्फत पहिरो नियन्त्रणको कार्य अगाडी बढाएको छ । आज गोदावरी नगरपालिका वडा नं २ स्थित किटाचौर, बिष्टछापमा रहेको जोखिम युक्त पहिरोमा भेटिभर बिरुवाको रोपण गरी मयर गजेन्द्र महर्जनले उक्त कार्यको शुभारम्भ गरेको हो ।

उक्त कार्यक्रममा गोदावरी नगरपालिका २ नं वडाका वडा अध्यक्ष मनोहर सिलवाल, कार्यपालिका सदस्य रीता पुकुंटी मिजार, वडा सदस्य रमेश बिष्ट, कर्ण तामाङ, शोभा बानिया बुढाथोकी, वडा सचिव रोशन कुमार झा, फोकल पर्सन किरण बज्राचार्य, वडाका पुर्व वडा अध्यक्ष, बिद्यालयका शिक्षक, शिक्षिका, समाजसेवी, बुद्धिजीविहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मेयर गजेन्द्र महर्जनले प्राकृतिक बिपद बाढी पहिरो जस्ता समस्याको प्राकृतिक समाधाननै अन्तराष्ट्रिय स्तरमा बढी प्रभावकारी देखिएको बताए । उनले यस स्थानमा जैविक प्रविधि मार्फत गरिएको पहिरो रोकथाम प्रभावकारी देखिएका पालिकाको अन्य क्षेत्रमा समेत यस्को प्रयोग विस्तार गरिदै जाने कुरा उल्लेख गरे ।

वडा नं २ का वडा अध्यक्ष मनोहर सिलवालले भेटिभर प्रविधि अन्तराष्ट्रिय स्तरमा समेत निकै प्रभावकारी सिद्ध भएको प्रविधि हुँदा यसले प्रभावकारी कार्यगर्नेकुरा उल्लेख गरे । उनले सयुक्त राष्ट्रसँघले सन् २०२० देखि २०३० को दशकलाई पारिस्थितिकी प्रणाली पुन स्थापनाको दशकको रुपमा घोषणा गरेको र पारिस्थितिकी प्रणाली पुनः स्थापनामा भेटिभर वनस्पतिको धेरै ठूलो महत्व र योगदान रहेको कुरा बताए ।

उनले गोदावरी नगरपालिकाले वातावरण संरक्षणको क्षेत्रमा धेरै महत्वपूर्ण कार्य गर्दै आएको कुरा उल्लेख गर्दै । यस पालिका हरित पूर्वाधार तर्फ अग्रसर रहेको बताए । उनले भने हरित पुर्वाधारको कार्यसँग नेपालको पहिलो कार्वन नेगेटिभ पालिकाको रुपमा गोदावरी नगरपालिका स्थापित हुन सक्ने कुरा उल्लेख गरे । गोदावरी नगरपालिकाले भेटिभर नेपालको प्राविधिक सहयोगमा स्याम्पल प्रोजेक्टको रुपमा उक्त पहिरो नियन्त्रणको कार्यको शुभारम्भ गरेको हो ।

काठमाडौं उपत्यकामा पछिल्लो समयमा पहिरोको प्रकोप बढदै गएको छ । अघिल्लो वर्षको अत्याधिक वर्षाका कारण ललितपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक क्षेत्रमा बाढी तथा पहिरोले निकै ठुलो धनजनको क्षति भएको थियो ।

प्रतिक्रिया

हेडलाइन्स