काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् ।
सर्वोच्च अदालतले चौधरीलाई छाड्न अर्को पत्र पठाएसँगै उनी रिहा हुने भएका हुन् ।
चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको सर्वोच्चले बताएको छ ।
आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको थियो ।
उनलाई भर्खरै डिल्लीबजार कारागारबाट छाडिएको हो ।
सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले यसअघि भएको आम माफीको निर्णय नै उल्ट्याइदिँदै पक्राउ गर्न पत्र काटेका थिए ।
विष्टको पत्र अनाधिकृत रहेको पाइएपछि प्रहरीले विष्टलाई पक्राउ गरेको छ ।
चौधरीलाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न भन्दै बुधबार दिउँसो प्रज्ञा प्रतिष्ठान कमलादीबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरेलगत्तै चौधरीलाई डिल्लीबजार कारागारमा बुझाइएको थियो ।
आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । चौधरी पक्राउ परेपछि सो कार्यक्रम स्थगित गरिएको थियो ।
टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।
चौधरीको आममाफीपछि उनको रिहाइ भएको भोलिपल्टै टीकापुर घटनाका पीडित पक्षबाट सर्वोच्च अदालतमा कानुनी चुनौती प्रस्तुत गरिएको थियो। घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहोराका परिवार तर्फबाट उनकी पत्नी शारदा कडायतले राष्ट्रपतिको माफी विरुद्ध रिट निवेदन दर्ता गरेकी थिइन्।