काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ ।
शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।
प्रहरीमाथि ढुंगामुढा हुन थालेपछि आन्दोलनले उग्र रुप लिएपछि शिक्षकहरुमाथि पानीको फोहोरा हानिएको थियो ।
प्रत्यक्षदर्शी शिक्षकहरुले भने प्रदर्शनमा घुसपैठ भएको दाबी गरेका छन् । झडपमा केही शिक्षक घाइते पनि भएका छन् ।
शिक्षकहरुले गत चैत २० गतेदेखि शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै काठमाडौंमा आन्दोलन गर्दै आएका छन् । शिक्षक र सरकारका प्रतिनिधिबीच सहमतिको प्रयास भए पनि सहमति भने हुन सकेको छैन ।
यसले गर्दा नयाँ शैक्षिक सत्रको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को वार्षिक परीक्षा समेत प्रभावित भएको छ ।
जसकारण वैशाख ११ गते हुने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि स्थगित गरिएको छ ।