काठमाडौं । कोरोनाका कारण उद्योग व्यवसाय बन्द भएपछि खुम्चिएको अर्थतन्त्र लयमा फर्कन अझै केहि समय लाग्ने देखिएको छ । देशमा सञ्चालित वाणिज्य बैंक तथा विकास बैंकले सार्वजनिक गरेको वित्तीय विवरण यहि प्रमाणित गरेको छ ।
चालु आर्थिक वर्षको चैतमसान्तसम्म वाणिज्य बैंकको औसतमा खराब कर्जा (एनपीएल) ४.८२५ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरू यस्तो कर्जा ३.६५ प्रतिशत थियो । गत आवको तुलनामा यो अवधिमा १.१७५ प्रतिशतले वाणिज्य बैंकहरूको खराब कर्जा वृद्धि भएको छ ।
वाणिज्य बैंकहरूको एनपीएल त्यति पुग्दा विकास बैंकहरुको औसत एनपीएल ५.०४ प्रतिशत पुगेको देखिएको छ । गत वर्ष सोहि अवधिमा ३.५८ प्रतिशत थियो । यो १.४७ प्रतिशतले परिवर्तन भएको हो ।
ऋण असुली समस्या जटिल बन्दा खराब कर्जाका कारण बढ्न गई वित्तीय संस्थाहरू दबाबमा परेका छन । वित्तीय संस्थाहरूले लगानी गरेको कर्जा समयमा उठ्न नसक्दा बैंकहरूको खराब कर्जा बढ्दै गएको हो ।
हुन त बैंकहरूलाई कानुनी रूपमा ऋणीको सम्पत्ति लिलामी गरेर पनि कर्जा असुल गर्न सक्ने व्यवस्था छ । यद्यपि बैंकहरूसँग यस्तो भए पनि व्यवहारिक रूपमा कर्जा असुली सजिलो रहेको छैन ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १८ बैंकको खराब कर्जा बढेको छ भने २ बैंकले मात्रै यस्तो कर्जा घटाएका छन् । । स्टयाण्र्डड चार्टर्ड र एभरेष्ट बैंकको खराब कर्जा भने घटेको छ । यी बैंकको खराब कर्जा क्रमशः १.४४ र ०.६४ प्रतिशतले खराब कर्जा रहेको छ ।
समिक्षा अवधिमा सबैभन्दा धेरै खराब कर्जा हिमालयन बैंकको रहेको छ । हिमालयन बैंकको खराब कर्जा ७.६८ प्रतिशत पुगेको हो । यसअघि बैंकको खराब कर्जा अनुपात ४.९६ प्रतिशत पुगेको छ ।
खराब कर्जा बढी हुने दोस्रो नम्बरमा कुमारी बैंक रहेको छ । बैंकको खराब कर्जा ६.९८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने बैकको खराब कर्जा ४.९५ प्रतिशत रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा ६.०६ प्रतिशत पुगेको छ । लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५.८६ प्रतिशत, सिटिजन्स बैंकको ५.७१ प्रतिशत, प्राइम बैंकको ५.६५ प्रतिशत, नेपाल बैंकको ५.४५ प्रतिशत र प्रभु बैंकको ५.०९ प्रतिशत रहेको छ ।
ग्लोबल आइएमई बैंकको ४.९८ प्रतिशत, नबिल बैंकको ४.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.६९ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.५९ प्रतिशत, एनएमबि बैंकको ४.४७ प्रतिशत, नेपाल एसबिआई बैंकको ४.०६ प्रतिशत, सिद्धार्थ बैंकको ४.०४ प्रतिशत र सानिमा बैंकको ३.४२ प्रतिशत रहेको छ।
विकास बैंकहरूको खराब कर्जा
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सबै विकास बैंकहरूको एनपीएल ४ प्रतिशत भन्दा माथि रहेको छ ।
चालु आवको ९ महिनासम्म विकास बैंकहरुको औसत एनपीएल ५.०४ प्रतिशत देखिएको हो । गत वर्ष सोहि अवधिमा ३.५८ प्रतिशत थियो । चालु आवमा विकास बैंकहरूको खराब कर्जा १.४७ प्रतिशतले बढेको छ ।
चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा लुम्बिनी विकास बैंकको एनपीएल सबैभन्दा बढी देखिएको छ । लुम्बिनी विकास बैंकको एनपीएल ७.१८ प्रतिशत रहेको छ । गत वर्षको तुलनामा ३.४९ प्रतिशतले परिवर्तन भएको छ ।
महालक्ष्मी विकास बैंकको एनपीएल ४.९९प्रतिशत रहेको छ । गत वर्षको तुलनामा ०.८३ प्रतिशतले परिवर्तन भएको छ । गत वर्ष सोहि अवधिमा ४.१६ प्रतिशत रहेको थियो ।
ज्योति विकस बैंकको एनपिएल ४.८९ प्रतिशत रहँदा सग्रिला विकास बैंकको ४.९७ प्रतिशत मात्र रहेको छ ।
गरीमा विकास बैंकको एनपिएल ४.७८ प्रतिशत रहेको छ । यो गत वर्षको तुलनामा १.८१ प्रतिशतले परिर्वतन भएको छ ।
साइन रेसिङ्गा विकास बैंकको एनपीएल ४.७६ प्रतिशत रहँदा मुक्तिनाथ विकास बैंकको एनपिएल ४.४१ प्रतिशत रहेको छ । कामना सेवा विकास बैंकको एनपिएल ४.२७ प्रतिशत रहेको छ । गत वर्ष सोहि अवधिमा ३.५५ प्रतिशत रहेको थियो ।