बिमस्टेक राष्ट्रका कृषि मन्त्रीस्तरीय तथा कृषि क्षेत्रका उच्च अधिकारीहरूको तेस्रो बैठक सम्पन्न

काठमाडौं । बिमस्टेक राष्ट्रहरुको कृषि मन्त्रीस्तरीय तेस्रो बैठक कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री माननीय रामनाथ अधिकारीको अध्यक्षतामा २७ चैत्र २०८१ मा काठमाडौंमा सम्पन्न भएको छ।

उक्त बैठकमा भारत र भुटानका मन्त्रीहरुको भौतिक उपस्थिति थियो भने बंगलादेश, म्यानमार, र श्रीलंकाका माननीय मन्त्रीहरुले भर्चुअल माध्यामबाट सहभागिता जनाएका थिए । साथै यस बैठकमा थाइल्याण्डका उप स्थायी सचिवले सहभागिता जनाएका थिए।

बैठकमा क्षेत्रीय कृषि पशुपन्छी तथा मत्स्य क्षेत्रको सहकार्यलाई प्रवर्द्धन गर्ने र यस क्षेत्रका कृषि सम्बद्ध मुख्य चुनौतीहरूको समाधान गर्ने विषयमा छलफल भएको थियो। मिति २०८१ चैत्र २६ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको अध्यक्षतामा भएको बिमस्टेक राष्ट्रहरुका कृषि क्षेत्रका उच्च अधिकारीहरूको बैठकमा छलफल भएका एजेण्डाहरुलाई मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेको छ।

यस अवसरमा बिमस्टेक राष्ट्रहरुमा कृषि क्षेत्रमा भएका गरेका कार्यक्रमहरुको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै बिमस्टेक कृषि क्षेत्रको सहकार्यको कार्ययोजना २०२३(२०२७ को कार्यान्वयनको प्रगति समीक्षा गरिएको थि‍यो। बिमस्टेक राष्ट्रहरुका कृषि क्षेत्रका उच्च अधिकारीहरुको यस बैठकमा कृषि क्षेत्रको भावी लक्ष्य र आगामी योजनाहरूमा छलफल गरिएको थियो।

उक्त बैठकमा बिमस्टेक राष्ट्रहरुमा क्षेत्रीय खाद्य भण्डारको स्थापना र क्षेत्रीय बीउ भण्डार स्थापना गर्ने बिषयमा सहमति भएको छ। साथै क्षेत्रीय कृषि व्यापारको प्रवर्द्धनका विषयमा भएको सहमतिका अतिरिक्त सदस्य राष्ट्रको कृषि क्षेत्रमा क्षमता विकासका लागि समेत बिशेष पहल गर्ने बिषयमा सहमति भएको छ।

कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रवर्द्धन गर्नका लागि बिमस्टेक सेन्टर अफ एक्सिलेन्स र कृषि विकासमा डिजिटल सार्वजनिक पूर्वाधारको स्थापनाका लागि सदस्य राष्ट्र भारतबाट अवधारणा प्रस्तुत भएको थियो। उक्त बैठकमा बिमस्टेक पशुपन्छी तथा मत्स्यपालन क्षेत्रमा सहकार्यको लागि नयाँ कार्ययोजनाको अनुमोदन गरिएको छ।

साथै बैठकमा कृषि क्षेत्रका विकासका कार्ययोजना अनुसार सम्भाव्य क्रियाकलापहरुको बिषयममा समेत छलफल गरेको थियो। यस अवसरमा नेपालमा सन् २०२५ को जुन महिनामा आयोजना हुने पर्वतीय कृषि प्रविधि कार्यशाला र श्रीलंकामा जलवायु स्मार्ट कृषि केन्द्रको स्थापनाका विषयमा समेत छलफल भै जानकारी हासिल भएको थियो।

सदस्य राष्ट्र श्रीलंकाले २०२७ मा हुने आगामी चौथो बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठक तथा उच्च अधिकारीहरुको बैठक आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सोहि अवसरमा बिमस्टेक सदस्य राष्ट्र नेपाल र भारतबीच कृषि क्षेत्रका अनुसन्धान, प्रविधि विकास,बाली उत्पादन, कृषि बजार, कृषि व्यापार, बाली संरक्षण, सिचाई, प्रांगारिक खेती लगायतका विषयमा सहकार्यका लागि भारत सरकारका कृषि, किसान कल्याण तथा ग्रामीण विकास मन्त्री माननीय शिवराज सिंह चौहान र नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारीले मन्त्रीस्तरीय समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। दुवै देशबीच दुई पक्षीय बैठक बसी साझा हितका विषयमा छलफल समेत भएको छ ।

बिमस्टेक सदस्य राष्ट्र नेपाल र भुटानबीच कृषि क्षेत्रमा सहकार्यका लागि दुई पक्षीय बैठक बसी साझा हितका बिषयमा छलफल भएको छ । उक्त बैठकमा प्रांगारिक खेती अनुसन्धान, प्रविधि विकास, जलवायुमैत्री कृषि प्रणाली विकास, कृषि र पशुपन्छी आनुवंशिक स्रोतको आदान प्रदान, कृषि व्यापार लगायतका बिषयमा छलफल भएको छ।

बैठकमा सदस्य राष्ट्रहरुका मन्त्रीस्तर र उच्च अधिकारीको विचार(विमर्शहरूबाट खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता, ग्रामीण विकासको प्रवर्द्धन, कृषकहरु माझ रहेको गरिवी न्यूनीकरण र दिगो विकासको लागि कृषिको महत्त्वपूर्ण भूमिकालाई पुनः पुष्टि गरेको छ। यस बैठकले सदस्य राष्ट्रहरूबीचको ज्ञान, प्रविधि, उत्कृष्ट अभ्यासहरू, साझा समस्या र चूनौतीहरुमा समाधानका उपायहरूको आदान(प्रदानले कृषक र सम्बद्ध सरोकारवाला पक्षहरुलाई लाभ पुर्‍याउने सहकार्यका लागि बलियो आधार निर्माण गरेको छ।

उक्त बैठकलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल यस साझा मन्च वा बैठकको आयोजक तथा अध्यक्षको भूमिका निर्वाह गर्न पाउँदा गौरवान्वित भएको व्यक्त गरेका थिए। यस अवसरमा संयुक्त वक्तव्य मार्फत जारी गरिएका प्रतिबद्धताहरू सदस्य राष्ट्रहरुमा कृषि प्रणालीको उत्पादनशीलता, उत्थानशीलता र स्थायित्व वृद्धि गर्ने व्यवहारिक पहलहरूमा परिणत हुनेमा दृढ विश्वास समेत व्यक्त गरेका छन्।

अनुसन्धान, प्रविधि हस्तान्तरण, जलवायु अनुकूलन र मूल्य शृङ्खला विकासमा सामूहिक प्रयासले यस क्षेत्रका मूलुक र जनताको खाद्य सम्प्रभुता र आर्थिक समृद्धि हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विचार व्यक्त गरेका थिए।

प्रतिक्रिया

हेडलाइन्स