ग्लोबल मनी विक, २०२५ को १३ औं श्रृङ्खला आजदेखि नेपालमा पनि शुरू

काठमाडौं ।’Think before follow, wise money tomorrow’ भन्ने नाराका साथ ग्लोबल मनी विक, २०२५ को १३ औं श्रृङ्खला आजदेखि नेपालमा पनि शुरू भएको छ ।

बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा हरेक वर्ष मार्च १७ देखि २३ सम्म ‘ग्लोबल मनी विक’ मनाउने गरिएको छ ।

ग्लोबल मनी विक, २०२५ को पहिलो दिन आज नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको संयोजनमा काठमाडौंमा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले पैसाको महत्व, बचत र सदुपयोग लगायतका विषयमा आमरूपमा जानकारी दिनका लागि गाउँ गाउँमा वित्तीय साक्षरता फैलाउनु आवश्यक रहेको र त्यसका लागि सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए ।

कार्यकारी निर्देशक सुवेदीले ग्लोबल मनी विक, २०२५ मनाउने क्रममा नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयहरूबाट विद्यालयस्तरमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू आयोजना गर्नेे र विद्युतीय माध्यमबाट पनि वित्तीय साक्षरता सम्बन्धी जानकारीमूलक कार्यक्रमहरू संचालन गर्ने जानकारी दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी लगायतका वक्ताहरूको पैसाको महत्व, बचत, सदुपयोग, सही लगानी र ठगी नियन्त्रण लगायतका बारेमा बालबालिका तथा युवालाई शुरूदेखि नै जानकारी दिनुपर्ने बताए ।

समाजमा हरेकस्तरमा वित्तीय साक्षरता तथा ज्ञान अभिवृद्धिका लागि सम्वद्ध सबै निकायहरूबीच सहकार्यको आवश्यकता समेत उनीहरूले औंल्याए । कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डका पदाधिकारी तथा कर्मचारीहरूका साथै नेपाल स्टक एक्सचेञ्ज, नेपाल स्टक ब्रोकर्स एसोसिएसन लगायत वित्तीय क्षेत्रका विभिन्न संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

हेडलाइन्स