काठमाडौं । डिजिटल भुक्तानी प्रणालीलाई विश्वस्तरमा विस्तार गर्ने उद्देश्यसहित नेपाल क्लियरिङ हाउस लिमिटेडले विभिन्न १० देशबाट क्यूआरमार्फत भुक्तानी लिनका लागि बाटो खुला गरेको छ ।
एनसीएचएलको नेपाल पे क्यूआर र अलिपे प्लस मोबाइल पेमेन्ट पार्टनरसंगको सम्झौता अनुरुप विभिन्न १० मुलुकका १४ वटा ईवालेट तथा मोबाइल बैंकिङबाट सिधै रकम भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो ।
नेपालले पर्यटक प्रवद्र्धनमा विशेष जोड दिँदै आएको बेलामा नेपालमा अन्तरदेशिय भुक्तानी लिन मिल्ने व्यवस्था भएसंगै अर्थतन्त्रमा पनि सकरात्मक प्रभाव पर्ने देखिएको छ । अलि पे प्लसका प्रयोगकर्ताहरुले आफ्नो ईवालेट तथा मोबाइल बैंकिङमार्फत सहजै नेपालका होटल, पसलहरु, सपिगं मल तथा विभिन्न व्यवसायीहरुलाई नेपाल पे क्यूआरमा भुक्तानी गर्न मिलेसंगै विदेशी पर्यटकहरुले नेपाली मुद्र सटही गर्नु पर्ने झन्झटिलो प्रकृयाबाट राहत पाएका छन् । भने उनीहरुले अब सहजै मन खोलेर नेपालमा खर्च गर्न सक्छन् ।
चीन, इटाली, मलेसिय, सिंगापुर, थाइल्याण्ड, दक्षिण कोरिया लगायत १० देशका पर्यटकले अब अलिपे प्लस मार्फत नेपालमा डिजिटल भुक्तानी गर्न सक्ने भएको हो । हाल चीनको अलिपे, अलिपे हङकङ, मकाओको एमपे र इटालीको टिनाबा बैंकको वालेट, मलेसियाका दुई वालेटहरु ‘टच एन गो इ–वालेट’ तथा पब्लिक बैंक बर्हाडले प्रबद्र्धन गरेको ‘माइ–पीबी’ वालेट, फिलिपिन्सको जी–क्यास, मंगोलियाको हाइ–पे र सिंगापुरका दुई वालेटहरु ‘चाङ यी पे’ र ओसिबिसी डिजिटल, दक्षिण कोरियाको कोकोआ पे, नेइबर पे र टोस पे, थाइल्याण्डको ट्रु–मनिमार्फत मार्फत पनि सिधै क्यूआर स्कान गरेर नेपालमा भुक्तानी गर्न मिल्ने भएको छ ।
यी देश तथा क्षेत्रका यात्रुहरूले आफ्नो डोमेस्टिक इवालेट तथा मोबाइल बैंकिङ एप मार्फत नेपाल पे क्यूआर नेटवर्क मार्फत भुक्तानी गर्न सक्छन् ।
अब विदेशी पर्यटकबाट अलिपे प्लसमार्फत नेपाल पे क्यूआरमा भएको भुक्तानी सहजै नेपालका मर्चेन्टले प्राप्त गर्न सक्ने छन् । यो सेवाले नेपाल घुम्न आउने पर्यटकलाई क्यास बोक्नु पर्ने बाध्यताबाट छुटकार दिलाएको छ । यस किसिमका क्रसबोर्डर भुक्तानी प्रणालीले नेपालको पर्यटन, व्यापार र डिजिटल अर्थतन्त्रमा नयाँ सम्भावना ल्याउनेछ ।
चीन, हङकङ, मलेसिया, थाइलान्ड, कोरिया, जापान लगायतका मुलुक नेपाल आउने पर्यटकको संख्या ठूलो छ । उनीहरु नेपाल आउँदा सजिलै भुक्तानी गर्न सकिने छ, नगद बोक्नु पर्दैन । यसरी क्यूआरबाट भुक्तानी गर्ने बाटो खुल्दा पर्यटकहरूलाई खर्च गर्न सहज हुने एनसीएचएलले बताएको छ ।
सन् २०२४ मा नेपाल घुम्न आएका १८ प्रतिशत पर्यटक ‘अलिपे प्लस’ सेवा सुरु भएको देशबाट आएका छन् । यसअघिसम्म यस्तो सेवा थिएन । कार्ड वा नगदबाट मात्र भुक्तानी गर्न मिल्थ्यो । क्यूआरबाट भुक्तानी गर्न मिल्ने भएपछि उनीहरूलाई थप खर्च गर्ने बाटो खुलेको छ ।
नेपाल पे को क्यूआरमा देशभरका ८ लाख ५० हजार भन्दा बढि मर्चेन्टहरु आवद्ध छन् भने अलिपे प्लस नेटर्वकमा पनि ९ करोड भन्दा बढि प्रयोगकर्ताहरु रहेका छन् । यदि कुनै व्यवसायीहरुले नेपालपे क्यूआर लिन इच्छुक भएमा नजिकको कुनै पनि बैंक वित्तीय संस्थामा गएर सहजै नेपालपे क्यूआर लिन सकिने छ । र, विदेशी पर्यटकहरुबाट पनि नेपालपे क्यूआरमा बिना कुनै झनझट सहजै भुक्तानी लिन सकिने छ ।