फागुनमा जीवन बीमा कम्पनीहरूको व्यवसाय खुम्चियो, ११ अर्ब ६६ करोडमा व्यापार सीमित

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा व्यवसाय गर्ने बीमकहरूको मासिक विवरण सार्वजनिक गरेको छ । देशमा सञ्चालित १८ जीवन बीमा कम्पनीले फागुन महिनामा प्रथम बीमा शुल्क बढी संकलन गरेपनि नवीकरण शुल्क घट्दा माघ महिनाको तुलनामा फागुमा कम्पनीहरूको व्यवसाय खु्म्चिएको छ ।

बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको फागुन महिनामात्रै जीवन बीमा कम्पनीहरूले ११ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सो बीमा शुल्कमध्ये २ अर्ब ५७ करोड प्रथम बीमा शुल्क हो भने ९ अर्ब ९ करोड नवीकरण शुल्क हो ।

माघ महिनामा जीवन बीमा कम्पनीहरूको यस्तो व्यापार १२ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ थियो । माघ महिनामा जीवन बीमा कम्पनीहरूले प्रथम बीमा शुल्कबाट २ अर्ब ३१ करोड रुपैयाँ उठाएका थिए भने १० अर्ब ३६ करोड पोलिसी नवीकरणबाट प्राप्त भएको शुल्क हो ।

चालु आवको फागुन अन्त्यसम्म ९८ अर्ब ५९ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । फागुन अन्त्यसम्म जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूले १ करोड ३८ लाख ७ हजार २४९ पोलिसी जारी गरेका छन् ।

जीवन बीमा कम्पनीहरूले चालु आवको माघ महिनासम्म ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँको प्रिमियम संकलन गरेका थिए । समीक्षा अवधिमा सबैभन्दा बढि जीवन बीमा व्यवसाय गर्ने नेपाल लाइफ इन्स्योरेन्स रहेको छ भने दोस्रो ठूलो व्यवसाय नेशनल लाइफ इन्स्योरेन्सले गरेको छ । नयाँ व्यवसाय वृद्धिमा पनि नेशनल लाइफ र नेपाल लाइफ अग्रस्थानमा रहेका छन् ।

फागुन महिनासम्ममा नेपाल लाइफले सबैभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले फागुन महिनासम्ममा कुल ४ अर्ब २४ करोड ४२ लाख रुपैयाँ बरारबरको नयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत फागुन महिनाको सोही अवधिमा कम्पनीको प्रथम बीमाशुल्क आर्जन २२ प्रतिशतले बृद्धि भएको छ ।

नेशनल लाइफले फागुन महिनासम्ममा कुल २ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय आर्जन गरेको छ । गत फागुन महिनाको तुलनामा कम्पनीको नयाँ व्यवसाय २३.७२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा एशियन लाइफको प्रथम बीमा शुल्क १२.९४ प्रतिशतले बढेर १५ करोड ३२ लाख पुगेको छ । आइएमई लाइफले फागुन महिनासम्ममा ८७ करोड ५९ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय आर्जन गरेको छ । फागुन महिनमा सिटिजन लाइफको प्रथम बीमाशुल्कबाट १३ करोड ५६ लाख कमाएको छ ।

जीवन बीमा व्यवसाय गर्ने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ६५ हजार १८४ बीमा पोलिसी जारी गरेर प्रथम बीमा शुल्कबाट १२ करोड ९६ लाख र नवीकरण बीमा व्यवसायबाट २९ करोड १४ लाख, सूर्यजोति लाइफ इन्स्योरेन्सले १८ करोड ७६ लाख प्रथम र नवीकरणबाट ४८ करोड ८२ लाख गरी फागनु महिनामात्रै ६७ लाख ५९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले फागनु महिनामा ७ करोड ४१ लाख प्रथम बीमा शुल्क र २५ करोड ८९ लाख नवीककरण गरी कुल ३३ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । मेट लाइफ इन्स्योरेन्स कर्पोरेशनले फागुन महिनामा प्रथम बीमा व्यवसायबाट १० करोड १३ प्रथम बीमा शुल्क र ३८ करोड ९७ लाख नवीकरण गरी ४९ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

गार्डियन माईक्रो लाइफले १ करोड ५९ लाख, क्रेष्ट माईक्रो लाइफले ३ करोड ६१ लाख, लिवर्टी माईक्रो लाइफले ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स