काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्काशनसहित गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई घोषणा गरेको लाभांश र बोनस सेयर वितरण गर्न साधारण सभा बोलाएको छ ।
हिमालयन रिइन्स्यारेन्यले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको माघ २६ गते बसेको बैठकले ४ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरि तेश्रो वार्षिक साधारण सभा आव्हान गरेको हो ।
फागुन २० गते तेश्रो साधारण सभा डाकेको कम्पनीले सोही सभाबाट ४ प्रतिशत बोनस सेयर पारित गर्ने र सो बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको ८० प्रतिशतले हुन आउने ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पास गर्नेछ ।
कम्पनीले आर्थिक वर्ष २०७९।ण्८० का लागि प्रस्तावित कुल ४ प्रतिशतले हुने ४० करोड रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतले हुने २ करोड १० लाख ५२ हजार ६३१.५८ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहको तर्फबाट रिक्त रहेको पदका लागि एक जना सञ्चालक र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार फागुन ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।