काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको असोज महिनासम्ममा कम्पनीले ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको साृहि अवधिको तुलनामा २.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समिक्षा अवधिमा कम्पनीले २ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत वर्षको तुलनामा १० प्रतिशत बढी हो। अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमाशुल्क आम्दानी २ अर्ब २३ करोड रुपैयाँ रहेको थियो।
असोज मसानतसम्म कम्पनीको जीवन बीमा कोषको आकार ३६ अर्ब ४ करोड ८९ लाख रुपैयाँ पुगेको छ। यो गत आवको तुलनामा २२.२८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको जीवन कोषको आकार २९ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको कुल आम्दानी १३.३७ प्रतिशतले वृद्धि भएको छ भने कुल खर्च १३.७७ प्रतिशतले वृद्धि भएको छ।
साथै, कम्पनीले बीमितहरूलाई ७० करोड ७७ लाख रुपैयाँको दाबी भुक्तानी दिएको छ। यो गत वर्षको तुलनामा ३५.९१ प्रतिशतले बढी हो।
५ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ३३ करोड रुपैयाँ सञ्चिति रहेको छ।
समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.२० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४३.५९ रुपैयाँ रहेको छ।