१ अर्ब २५ करोड बजेट उपयोग गर्न देशभरबाट छानिए ३९४ स्टार्टअप

काठमाडौं । स्टार्टअप प्रोत्साहन कार्यक्रममा ३९४ उद्यमी छानिएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिस्ठानले आज योग्य प्रस्तावहरूको सूची सार्वजनिक गरेको हो ।

सरकारले ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म स्टार्टअप कर्जा दिने गरी गत माघमा स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० स्वीकृत गरेको छ ।

सोही कार्यविधि अनुसार प्रतिष्ठानले १९ माघदेखि १० फागुनसम्म प्रस्तावहरू आह्वान गरेको थियो । यसरी आह्वान भएको प्रस्तावमध्ये ३९४ जना उद्यमीले पेस गरेका परियोजनाहरू पहिलो चरणमा योग्य ठहरिएका छन् ।

यस वर्षको बजेटले स्टार्टअपलाई प्रोत्साहन गर्न भन्दै १ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ । मुलुकमा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्टअप इको सिस्टम विकास गरिने बजेटमा उल्लेख गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सरकारले ३ किस्तामा २५ लाखसम्म स्टार्टअप कर्जा दिने छ । बैंकले कर्जा प्रवाह गर्दा बढीमा ५ लाखसम्मको कर्जाका हकमा एक किस्ता, १५ लाखसम्मको कर्जा दुई किस्ता र त्यसभन्दा माथिको कर्जा तीन किस्तामा प्रवाह गर्ने कार्यविधिमा उल्लेख छ ।

देशैभरबाट स्टार्टअप उद्यमीहरु छनोट भएका छन् । ठूलो संख्यामा काठमाडौंबाट छनोट भएका छन् । स्टार्टअप परियोजनामा कृषि तथा पशु फर्म, फास्टफुड रेसुटुरेन्ट, सुशासन तथा विकास अध्ययन, फर्निचर, अर्गानिक गार्डेन, होजियारी एन्ड गार्मेन्ट्सजस्ता परियोजना छनोट भएका छन् ।

टेक्निकल एकेडेमी, होमकेयर, साबुन उद्योग, डेरी उद्योग, फुटवेयर, टेलरिङ तथा गार्मेन्ट, दुना–टपरी हाउस, बेकरीजस्ता परियोजनालाई समेत स्टार्टअपमा समेटिएको छ ।

हस्तकला, ड्राइ क्लिनिङ, माछा पालन, ब्युटिपार्लर, टेक्सटायल उद्योग, ट्राउट फर्म, डसना पसल, तोरी मिल, मौरिपालन, कम्प्युटर इन्स्टिच्युट, पाउरोटी उद्योग, डिजिटल फोटो सर्भिस, होमस्टे, मेटल उद्योग, लप्सी क्यान्डी उद्योग, मसला उद्योग, दाना उद्योग, डेन्टर सेन्टरलगायत उद्योग समेत स्टार्टअपका लागि योग्य देखिएका छन् ।

प्रतिष्ठानले छानिएका स्टार्टअप परियोजना पेस गर्ने प्रस्तावकलाई प्रस्तुतीकरणको समय तोकेको छ । जसमा १७ वैशाखदेखि ३ जेठसम्मको समय दिइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स