खाद्य कम्पनीको थापाथलीको जग्गा विशाल ग्रुपलाई, कौडिको भाउमा अरुले गर्दैछन् उपयोग

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थापाथलीको जग्गा भाडामा दिने भएको छ ।वागमती प्रादेशिक कार्यालय रहेको थापाथलीको जग्गा विशाल ग्रुपलाई भाडामा दिने तयारी गरेको हो ।

यो संगै महेन्द्रनगरमा रहेको जग्गा समेत भाडामा लगाउने निर्णय भैसकेको छ । पूर्ण सरकारी स्वामित्वको यस संस्थान राम्रो संचालन हुन सकेको छैन । खाद्यान्नको मौज्दात राख्ने र बिक्री वितरण गर्ने जिम्मेवारी लिएको यस संस्थान रुग्ण अवस्थामा पुगेको छ ।

यस संस्थानको अचल सम्पत्ति भने धेरै रहेकोे छ । सोहि कारण जग्गा आफुले उपयोग गर्न नसकेर लिजमा दिन अध्ययन सुरु गरेको बताइएको छ । अहिले पनि यस संस्थानको केहि जग्गा भाडामै छ । तर यसरी भाडामा दिइएको छ की ‘प्राइम लोकेशन’ नगन्य मूल्यमा प्रदान गरेको छ । पछिल्लो समय थापाथली र महेन्द्रनगर दुबै ठाउँको जग्गा भाडामा दिनको लागि अध्ययन गरिसकिएको जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय थापाथलीमा ८ रोपनी जग्गा रहेको छ भने महेन्द्रनगरमा तत्कालीन नेशनल ट्रेडिङको जग्गा भाडामा दिन लागेको हो । उक्त स्थानमा कम्पनीको १ विगा ७ कठ्ठा १२ धुर जग्गा रहेको छ ।

खाद्य कम्पनीले थापाथलीको जग्गा व्यापारिक घराना विशाल ग्रूपलाई दिन खाजेको छ । सोहि स्थानको जग्गा निकै आवश्यक परेको भन्दै लामो समयदेखि विशाल ग्रुप उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लविइङमा थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश आचार्य नियुक्ति हुनु अगावै उक्त जग्गाको बारेमा निकै चासो राखेको थियो । जग्गा भाडामा दिने सर्त सहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आचार्यलाई नियुक्ति दिइएको बुझिएको छ ।

यस सम्बन्धमा चासो राख्न खोज्दा आचार्य सम्पर्कमा आउन चाहेनन् । संस्थानकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले भने थापाथलीको जग्गाको सम्बन्धमा आफुलाई जानकारी नभएको तर महेन्द्रनगरेको जग्गा भने भाडामा लगाउने सम्बन्धमा अध्ययन भएको बताइन् । उनले भनिन्, ‘नेशनल ट्रेडिङ गाभिदा आएको महेन्द्रनगरको जग्गा भाडामा लगाउने तयारी भएको हो ।’

खाद्य संस्थानको उपत्यकामा २ यस रोपना जग्गा रहेको छ । तराईमा ६५ विघा रहेको र पहाडको विभिन्न भागमा १५ सय रोपनी रहेको र त्यस्तै गरि हिमाली भेगमा ११ सय रोपनी रहेको छ । नेशलन ट्रेडिङसँग रहेको रामशाह पथको २५ रोपनी साथमा भवन , विराटनगरको ५ विघा , वीरगंजको ६ विघा, भैरहवाको १ विघा १६ कठ्ठा, पोखराको २२ रोपनी , नेपालगंजको १ विघा, धनगडीको २ विघा , महेन्द्रनगरेको १ विघा , सुर्खेतको ११ कठ्ठा धनकुटाको ३ रोपनी जग्गा साथमा आएको छ । धेरै स्थानमा भौतिक संरचना छन् ।
निकै धेरै चलअचल सम्पत्ति भएको तर यस संस्थानले उदेश्य अनुसार काम गर्न भने सकेको छैन । भएको सम्पत्ति प्रयोगमा आउने गरि संचालन गर्ने योजना न त सरकारको छ न नयाँ आउने सीईओको नै ।

त्यसकारण विभिन्न व्यक्तिहरुले आफूले चाहेको र चाहेको मूल्यमा यस संस्थाको जग्गा भाडामा खोजिरहेका छन् । त्यसलाई सहजिकरण गर्न अहिलेका सीईओ आचार्य समेत लागेको पाइएको हो ।

भाडामा दिएको जग्गा तथा भवन पनि बेबारिसे अवस्थामा

खाद्य कम्पनीले अहिले तीन स्थानको जग्गा  व्यापारीलाई भाडामा लगाएको छ । खाद्य संस्थानकै भद्रकालीको जग्गा भाडामा लगाएको छ । जसमा पहिले ड्राइभिङ सेन्टर थियो भने अहिले फनपार्क बनाइएको छ । फनल्याड इन्टरटेन्टमेन्ट प्रालिले भाडामा लिएर आफै संरचना बनाएको हो । यसका संचालक थार्चिन ब्लोन हुन् । यसले मासिक १० लाख ५१ हजार रुपैयाँ बुझाउने संस्थानसँग सम्झौता गरेको छ । तर ५ वर्षको भाडा अहिलेसम्म दिएको छैन । यसले ७ रोपनी जग्गा उपयोग गरेको छ ।

त्यस्तै गरि नेशनल ट्रेडिङबाट प्राप्त भएको ट्राफिक प्रहरीसँगै जोडिएको भवनमा रहेको स्काइदरबार ब्याक्टेटको पनि नियमित भाडा रोकिएको छ ।

सँगै रहेको ड्राइभिङ सेन्टरको समेत भाडा रोकिएको अवस्था छ । संस्थान निकै कमजोर संचालन भएको चाल पाएका व्यापारीहरुले भाडा रोकेको देखिन्छ । भने त्यसमा गम्भिर भएर संस्थानका व्यवस्थापन समेत लागेका छैनन् ।

सोहि अनुरुप चल्नको लागि यस संस्थानको जग्गा भाडामा खोज्नेहरु धेरै छन् । त्यसमध्येको एक विशाल ग्रुपले थापाथलीको जग्गा भाडामा पाउने तयारी अन्तिम अवस्थामा पुर्याइएको छ ।

प्रतिक्रिया

हेडलाइन्स