उद्योग मन्त्रालयको दुवै सचिवले मागे सरुवा

काठमाडौं । उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयमा रहेको दुवैजना सचिवले सरुवा माग गरेका छन् । उद्योग सचिव कृष्णबहादुर राउत र वाणिज्य तथा आपूर्ति तर्फका सचिव गोबिन्दबहादुर कार्की दुबैले सरुवा माग गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर उनीहरु दुबैजनाले अन्यन्त्र निकायमा लाने वातावरण मिलाउन भनेका हुन् ।

उद्योग मन्त्रालयमा आउन धेरै सचिवहरुले इच्छा व्यक्त गर्दछन् । तर यस मन्त्रालयमा रहेका दुबै सचिवले भने पछिल्लो समय यस मन्त्रालयबाट बाहिर जाने चाहना राखेका छन् ।

यसको कारण मन्त्रीसँगै जोडिएको उद्योग मन्त्रालयका एक अधिकारी बताउँछन् ।
उनी भन्छन्, ‘मन्त्रीको व्यवहार र शैलीलाई दुवै सचिवले राम्रो रुपमा आत्मसाथ गरेको देखिदैन । त्यसकारणले पनि यहाँ बस्न नमानिरहुनु भएको होला ।’

कार्की फ्रेस सचिव हुन् भने राउत सचिव भएको केहि समय भयो । राउत त पक्राउ नै परिसकेका व्यक्ति हुन् । ललिता निवास जग्गा प्रकारणमा उनमाथि पनि दोष आएको थियो । तर उनी त्यसबाट उम्किसकेका छन् ।

सहसचिव हुँदा कार्कीले त्यहि मन्त्रालयको बहुक्षीय महाशाखा प्रमुख भएर काम गरिसकेका थिए । अहिले उनी नयाँ सचिव हुन् ।

राउत आफू निगरानीमा छु भन्ने हिसाबमा कुनै पनि विवाद नआउने गरि काम गर्न चाहिररहेका छन् ।
कार्की आफ्नो भविष्य रहेको अन्य निकायमा समेत गएर ‘पर्फमेन्स’ देखाउनुपर्छ भन्ने सोचाइबाट काम गरिरहेका छन् ।

तर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको शैली भने प्रस्ताव आएको खण्डमा जे पनि निर्णय गरिहाल्नुपर्छ भन्ने छ ।

विशेषगरि अहिले उद्योग मन्त्रालयमा दुई तीन वटा विषयको निर्णय नै रोकिएको छ । यो विषय मन्त्री भण्डारीलाई मन नै गरेको छैन । त्यसलाई हेरेर मन्त्री भण्डारीले सचिवहरुको दिनहुँ झाँको झारिरहेका छन् ।

केहि उद्योगहरु आफ्नो क्षमता तथा पुँजी वृद्धि गर्नको लागि आइरहेका छन् । करिव ३ महिनादेखि पुँजी वृद्धिको निर्णय गर्ने भनेर पनि रोकिएको छ । जुन विषय मन्त्रीलाई मन नै गरेको छैन । विवादमा परेको गोदावरी मार्वल विषय सल्टाइदिन उद्योग मन्त्री भण्डारीले दिनहुँ ताकेता गरिरहेका छन् ।

त्यस्तै गरि केहि मदिरा उद्योगको पुँजी क्षमता वृद्धि गर्ने भनिएको थियो, केहि गुड्खा उद्योगको लाइसेन्स दिने भनिएको छ । यी विषयलाई राउत निर्णयमा लान आनाकानी गरिरहेका छन् ।

त्यस्तै गरि वाणिज्य सचिवसँग सुरुमै गरेको विषय भनेको वस्तुको कोटा वितरणबाट नै हो । गहुँको कोटा ट्रेडिङ कम्पनीलाई दिने भनेर पनि रोकिएको छ । सुपारी, केराऊ , मरिचको कोटा समेत वितरणको काम रोकिएको छ । उद्योगहरुलाई दिएर पनि ट्रेडिङलाई दिएको छैन । जुन विषयमा मन्त्री रुष्ट देखिन्छन् ।

मन्त्रीले मधुसूदन बुर्लाकोटीलाई हटाएर ल्याएका कार्कीले समेत उही ढंगबाट काम गरेपछि दिनहुँ सचिवलाई कार्यकक्षमा बोलाउदै हकार्ने गरेको मन्त्रालयका ती अधिकारी बताउँछन् ।

उनी भन्छन्, ‘मन्त्रीले कुनै फाइल अघि बढाउने काम मात्रै हैन, फाइलवाला व्यक्तिसँग पनि सचिवले नै राम्रो नेगोसेशन गरोस् भन्ने चाहना राख्छन् । त्यसकारण पनि सचिवज्यूहरु डाराएका छन् ।’

प्रतिक्रिया

हेडलाइन्स