सरकारले नीतिगत सुधारका लागि काम गरे निजी क्षेत्र लगानीका लागि तयार छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देश विकासको नविन सोचको सम्मान सोही अनुरुपको वातावरण निर्माण आवश्यक भएको बताएका छन् ।

नेपाली कांग्रेस उद्यमशीलता तथा साना मझौला व्यवसायी विकास विभागले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘नेपालमा स्टार्टअप र साना तथा मझौला सम्मलेन’ मा आफ्नो धारणा राख्दै अध्यक्ष ढकालले अहिलेको विश्व नवप्रतर्वनमुखी सोचबाट अघि बढिरहेको सन्दर्भमा देशको आर्थिक उन्नतीका लागि उद्यमशीलता प्रवर्द्धन , लघु घरेलु तथा साना उद्योगको स्तरोन्नति, औद्योगिक तथा व्यापार पूर्वाधार विकास र नवप्रतर्वनमुखी कार्यक्रममा केन्द्रित हुनुपर्ने बताए ।

नेपालमा सम्भावना नै सम्भावना रहेकोले यहाँ सम्भावना छैन भन्ने भाष्य परिवर्तन गर्नु पर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले सरकारले नीतिगत सुधारका लागि काम गरे निजि क्षेत्र लगानीका लागि तयार रहेको र अहिले अनुकुल वातावरण निर्माण हुँदै आएको समेत बताए ।

उनले नवप्रवर्तनशील सोच र जोश भएका युवाहरूमा उद्यमशीलताको विकासको लागि सरकार निजी क्षेत्र मिलेर वातावरण निर्माण गरिदिनुपर्ने समेत बताए । नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायको प्रवर्द्धनका लागि स्टार्टअप एण्ड ईन्नोभेशन समितिरफोरमहरुहरु स्थापना गर्नुका साथै उनीहरु मार्फत विभिन्न कामहरु गरिरहेको र स्टार्टअपको माध्यमबाट धेरै युवाहरु व्यवसायमा आएको समेत बताए ।

‘पहिले काम गर्छु भन्दा लगानीको समस्या थियो । अहिले बैंक, वित्तीय संस्था ,भेन्चर कम्पनी तथा व्यक्तिगत रुपमा पनि लगानी गर्ने संस्थाहरु छन । काम गर्न चाहनेका लागि पूजिको अभाव हुँदैन । यो अवस्थामा अहिले उद्द्मशिलता र नवपर्वतनका लागि अवसर छ । यसको सहि उपयोग गर्नु पर्छ ,’ उनले भने ।

यस्तै उनले देश विकासका लागि बाह्य लगानी आवश्यक रहेपनी स्वदेशी पुँजीको परिचालनबाट पनि देश विकास गर्न सकिने बताए । ‘हामीले धेरै गर्नु पर्ने छ । देश विकासको लागी विदेशी पुँजी पनि चाहिन्छ । तर आन्तरिक पुँजी परिचालनबाट पनि हामिले पूर्वाधारको विकास तथा अन्य काम गर्न सक्छौ ।’ अहिले आन्तरिक पुँजी परिचालनबाट पनि केही गर्न सकिन्छ भनेर आफुहरुले १० अर्ब पुँजीको पब्लिक लिमिटेड कम्पनी स्थापना गरेको र यसबाट विकासका कामहरु शुरु गर्ने तयारी रहेको पनि अध्यक्ष ढकालले जानकारी दिए ।

अध्यक्ष ढकालले उद्द्मशीलताको लागि नागरिकमा उच्च मनोबलको विकास तथा नीतिगत सुधार आवश्यक रहेको बताए । ‘महासंघले नीतिगत सुधारको लागि सरकारसँग पैरवी र सुधारका पहल गर्दै आइरहेको छ । त्यसैको फस्वरुप पछिल्लो कतिपय कानून संशोधन तथा परिमार्जन भएका छ्न् । यो सकारात्मक पक्ष हो । यसलाई हामीले स्वागत गरेका छौं । तर यो पर्याप्त छैन । ती कानून कायार्नन्वयनका लागि सोही अनुरुप नियमावली र कार्यविधि आउनु पर्छ ।’ उनले भने ।

साना तथा मझौला उद्योगहरूले स्थानीय कच्चा पदार्थ र सीपको उपयोग तथा रोजगारी सिर्जना,गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले आधुनिक प्रविधि र बजार प्रवर्द्धनका लागि पर्याप्त पुँजीको व्यवस्था गरेर साना तथा मझौला उद्योगहरुको विकास गर्न सकिने धारणा राखे ।

यस्तै सोही कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले पछिल्लो समय गरेका नीतिगत सुधारले निजि क्षेत्र उत्साहित भएको उल्लेख गर्दै उद्योग व्यवसाय प्रवर्द्धनका लागि नीतिगत स्थिरता आवश्यक रहेको बताए ।
‘अहिले अर्थतन्त्र चलायमान हुन सकेको छैन । बजारमा माग छैन । यसतर्फ ध्यान जान आवश्यक छ । यद्यपि देशको विकासका लागि अरुले गरिदिने होइन हामिले नै गर्ने हो । सरकारले वातावरण निर्माण गरिदिनु पर्छ । निजि क्षेत्र सधैं तयार छ ।’ उनले भने ।

उद्योग वाणिज्य महासंघले स्टार्टअप तथा उद्द्मशिलताको लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको समेत जानकारी दिए । कार्यक्रमको उदघाटन गर्दै नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले उद्योग व्यवसायको विकासका लागि काङ्ग्रेस सम्मिलित सरकारले नीतिगत सुधारको पहल गरिरहेको बताए ।

उनले नेपालको आर्थिक समृद्धिका लागि उद्द्मशीलता र नवप्रवर्तनलाई जोड दिनु पर्ने समेत बताए ।

प्रतिक्रिया

हेडलाइन्स