‘सेलिब्रिटी बैंकर’को क्षमता अझै जाँच्न चाहन्छिन् अनामिका

काठमाडौं । ज्ञानेन्द्रप्रसाद ढुंगानाको लामो समय बैंकिङ क्षेत्रमै बितेको छ ।
नियामकदेखि प्रवद्र्धकसम्मको संस्थामा आबद्ध भइसकेका उनी अहिले पनि उस्तै सक्रिय छन् । ‘सेलिब्रिटी बैंकर’को छवि कमाएका छन् । एक कर्मचारीको लगनशीलताको उदाहरण बनेका छन् । बैंकिङ क्षेत्रमा उनको उही गति कायम छ ।

ढुंगानाको यो सफलताको पछाडि श्रीमती अनामिकाको साथ र सहयोग लुकेको छ । त्यसैले त उनी मज्जाले आफ्नो कर्ममा दत्तचित्त हुनसकेका छन् ।

अनामिकाले ढुंगानाको निराशामा उत्साह भर्छिन् । काम सुरु गर्दा हौसला बढाउँछिन् । सफलतामा खुसी हुन्छिन् ।
हुन त कुनै पनि व्यक्ति सफल हुन आफ्नो क्षमतालाई अनिवार्य मानिन्छ नै । तर त्यतिले मात्रै पुग्दैन । हरेक सफलतामा निरन्तर पाइरहने परिवारको सहयोगको भिन्नै महत्ता छ ।

यस अर्थमा श्रीमतीले कामको गति नधर्मराउन दिएको साथकै कारण अहिले ढुंगाना सफल छन् । आज बैंकर भन्नेबित्तिकै बजारमा पहिलो नम्बरमा नै ढुंगानाको नाम आउँछ ।

जीवनमा क्षमता पहिलो र साथ अर्को पाटो हो । यी दुई पाटा मिल्दा सफलताको ढोका सहजै खुल्छ । निःस्वार्थ साथले क्षमता निखारिन्छ । अन्ततः त्यसले सफलताको शिखर चुम्छ ।

अर्धांगिनी अनामिका नेपालले ढुंगानाको क्षमतालाई यसैगरी तिखारेकी छिन् ।
अनामिकाले ढुंगानालाई बिहेपछि नै चिनिन् । आफन्तहरुले मागेर रीतिरिवाजअनुसार नै बिहे भयो । दुवैलाई एकअर्काको स्वभाव थाहा थिएन । कस्ता खालका हुन् अञ्जान नै थियो । यतिकैमा लगन जुराइयो र समय मिलाएर बिहे भयो ।
अहिले पहिला ‘लभ’ पर्छ । त्यसपछि एकअर्कालाई राम्रोसँग चिनेपछि बल्ल बिहेको कुरा अघि बढ्छ । यो दम्पतीको भने ठ्याक्कै उल्टो छ ।

जब बिहे भयो, त्यसपछि माया बस्न थाल्यो । बल्ल एकअर्कालाई चिन्दै र बुझ्दै गए ।
ढुंगाना गाउँले । अनामिका सहरकी । यहीँ हुर्के–बढेकी र पढेकी ।

घरबाट भाडाको घरमा भित्रिँदा…
काठमाडौंको डिल्ली बजारमा जन्मिएकी अनामिकाको बाल्यकाल यहीँ नै बित्यो । सानो गौचरनको महेन्द्र भवनमा पढिन् । राम्रो परिवारिक वातावरणमा हुर्किइन् ।

पालनपोषणमा कुनै कमी भएन । कलेजको शिक्षा भने शंकरदेवमा सुरु भयो । उनी शंकरदेवमा पढ्दै थिइन् ।
तेह्रथुमका गाउँले भए पनि ढुंगाना त्यस भेगका हुने खाने परिवारकै थिए । सानैदेखि राम्रो पढ्ने स्वभावका । विद्यालय जीवनसँगै उनी गाउँबाट सहर छिरे । पढाइलाई निरन्तरता दिए । अध्ययन एक लेभलमा पुगेको र काम नि सुरु गरिसकेका ।
अनामिकाको बुबाको भान्जी ढुंगानाको भाउजू पर्ने । यही नाताबाट ढुंगाना परिवारले अनामिकालाई माग्न आयो । ज्ञानेन्द्रको लगनशीलता र योग्यता बुझेको अनामिकाको परिवारले स्वीकार गर्यो।
फागुनमा टिकोटालो भयो । त्यसपछि मात्रै ज्ञानेन्द्रबारे चासो राखेको अनामिका सुनाउँछिन् ।
बल्ल दुवैको भेट भएको थियो ।

दुई महिनामा अर्थात् वैशाखमा बिहे भयो । यो २०५३ सालको कुरा थियो ।
माइती काठमाडौंकै बासिन्दा भएर पनि उनी भाडाकै घरमा भित्रिएकी थिइन् ।

दुई जना मात्रै बस्ने हुँदा उनलाई कुनै नौलो र अप्ठ्यारो भएन । ढुंगानाको परिवार तेह्रथुममै थियो ।
‘भाडामै बस्दा पनि दुई जना मात्रै भएकोले कुनै अप्ठ्यारो महसुस गर्नुपरेन । बुहारीको भूमिकाको विषयमा पनि खासै अनुभव नै रहेन’, अनामिका भन्छिन् ।

यहाँको संस्कार र चलनअनुसार बुहारी भएपछि घर परिवारमा त्यहीअनुसारको भूमिकाको अपेक्षा गरिन्छ । बिहेपछि ढुंगानाको आमा केही दिन त बसे पनि गाउँ नै फर्केकाले बुहारीको भूमिका निर्वाह गर्नुपरेन ।

जब सहरकी छोरी गाउँकी बुहारी बनिन्….
केही समय यसरी नै बित्यो । त्यसपछि ज्ञानेन्द्रले अनामिकालाई तेह्रथुम लगे । गाउँ जाँदा भने अनामिकालाई नौलो लागेको उनको भनाइ छ । त्यसलाई उनी निकै अविस्मरणीय रहेको बताउँछिन् ।

लामो यात्रा नगरेकी अनामिकाका लागि यो नौलो मात्र नभई कठिन यात्रा पनि थियो । अर्को, नेपालको ठाउँ र जीवनशैली यस्तो हुँदो रैछ भन्ने अनुभव आफैँमा अनौठो र नयाँ लाग्यो ।

‘लामो यात्रा गाह्रो त भयो नै, प्रमुख कुरा भनेको बाटोको अवस्था हो । त्यस्तो बाटोमा पनि मोटर जाँदो रै’छ’, उनी सम्झिन्छिन्, ‘कसरी हिँड्दो होला, बाँचिएला कि मरिएलाजस्तो लाग्ने।’

अनामिकाका बुवा सरकारी जागिरे । विभिन्न ठाउँमा गएर काम गरेको । बुबा पुगेको ठाउँमा केही स्थानमा त पुगेकी थिइन् तर आफ्नै घर जाँदाचाहिँ निकै ढुकढुकी बढेको उनी सुनाउँछिन् ।

पहाडका मान्छेहरुको दुःख कस्ता हुँदा रहेछन् । नेपालको पूर्वाधारको अवस्था कस्तो रहेछ ती कुराहरुलाई सिक्ने मौका समेत त्यो पहिलो यात्राले सिकाएको उनको भनाइ छ ।

घर पुगेपछि डराएको उनी बताउँछिन् ।
‘परिवारसँग नबसेकाले कसरी बुहारीको भूमिका निर्वाह गर्ने, कसरी काम गर्ने भन्ने खालको डर भयो’, उनी भन्छिन्, ‘आफ्नै घर हो भन्ने महसुस नै भएन ।’

तर माहोल भने फरक थियो । विकट भए पनि ढुंगाना परिवार आफैँमा पढेलेखेको । घरका सबैले ‘नयाँ मान्छेले केही काम गर्नुपर्दैन, बस बस’ भन्ने । सबैको माया र स्नेह पाए ।

छरछिमेकका सबै एकनासले हेर्थे । अनामिकालाई के गर्नु गर्नु हुन्थ्यो ।
उनी भन्छिन्, ‘जो भेट्यो त्यसले शिरदेखि पाउसम्म हेर्थे । त्यो देख्दा निकै लाज लाग्थ्यो।’

शनिबारचाहिँ केही समय पाए हुन्थ्यो भन्ने लाग्थ्यो….
त्यो समयमा ढुंगाना बैंक अफ काठमाण्डूमा काम गर्थे । अनामिका पनि पढाइसँगै काम पनि गर्न चाहिन् । कन्या क्याम्पसमा कम्प्युटर सिकाउनेदेखि हालको एनआईसी एसिया बैंकमा समेत आबद्ध भएर काम गर्न थालिन् । सोही समयमा बच्चा भएकोले कामलाई निरन्तरता दिन नसकेको उनी सुनाउँछिन् ।

आफूले कामलाई निरन्तरता दिन नसके पनि श्रीमान्को लागि भने कसरी काम गर्न सक्छन् त्यसरी नै अघि बढाउन सहयोग गर्थिन् ।

ढुंगाना नेपाल राष्ट्र बैंक प्रवेश गरे । निर्देशकसम्म भए । राष्ट्र बैंकको निर्देशक भनेको अहिले पनि निकै सह्राहनीय पद मानिन्छ ।

ढुंगाना अझै आफ्नो क्षमता तिखार्न चाहन्थे । त्यसलाई अनामिकाले पुग्दो साथ दिइन् ।
पछि ढुंगानाले सरकारी जागिर छाडे । निजी बैंकमा काम सुरु गरे ।

एनसीसी बैंकको जीएम भएर काम सुरु गरेका उनी छोटो समयमै एनबी बैंकको सीईओ बने ।
‘बैंकको सीईओ अर्थात् कर्मचारीमध्येको सबैभन्दा ठूलो पद । यसरी माथि जानु आफैँमा हर्षको कुरा थियो’, अनामिका भन्छिन्, ‘तर बैंकको अवस्था राम्रो थिएन । त्यो मलाई पनि थाहा थियो । त्यसलाई कसरी उठाउने भन्ने चिन्ता थियो ।’

ढुंगाना एनबी बैंकमा आबद्ध भएपछि त भोक तिर्खा नै बिर्सिए । घर परिवार पनि बिर्सिए । घर आउँदा प्रायः मध्यरात नै हुन्थ्यो । उनको दिमागमा बैंकको समस्या हल गर्ने र नयाँ योजना बनाउने मात्रै रहेको अनामिका चाल पाउँथिन् ।
‘उहाँमा चुनौती लिने चाहना छ र चुनौतीलाई सम्मान गर्न दत्तचित्त हुने जाँगर जोस र लगनशीलता पनि छ । यसले नै उहाँलाई सफल बनाउँदै लगेको हो’, उनी भन्छिन् ।

लामो समय एनबी बैंकमा बिताएका ढुंगानाले बैंकलाई एक तहसम्म पुर्याए पनि ।
यसरी इच्छा शक्ति बनाएर बैंकमा लाग्दा उनले न त बच्चाहरुको रेखदेख गरे न घरपरिवारको बारेमा सोचे । आफ्नो कामलाई मात्रै ध्यान दिए । त्यसमा अनामिकाले कुनै नराम्रो मानिनन् । काम गर्ने तीव्र इच्छा र नयाँ योजना बोकेर अघि बढेको मान्छेसँग समय आफूलाई देओस् भन्ने चाहना पनि राखिनन् ।

तर हरेक हप्ता आउने शनिबार चाहिँ केही समय पाए हुन्थ्यो भन्ने लाग्थ्यो । शनिबारको समय त्यसबेलादेखि चाहना राखेको अहिलेसम्म पनि नपाएको सुनाउँछिन् उनी ।

यसमा धेरै गुनासो पनि छैन । किन कि यसकै कारण बैंकिङ बजारमा ढुंगानाले आज यस्तो सफलता पाएको उनलाई लाग्छ ।
‘त्यही कामले गर्दा होला यत्तिको परिचय पाएको । यही सोच्छु र गौरव गर्छु’, उनी भन्छिन्, ‘उहाँले संघर्ष गरेको गाउँठाउँ पनि देखेँ, कमजोर पूर्वाधार भएको ठाउँमा पढाइ कस्तो हुन्थ्यो होला, आफैँ मिहिनेत नगरी पढाइ कसरी यस्तो राम्रो भएको होला । त्यसबेलादेखि अहिलेसम्मको स्थिति विचार गरेर गौरव गर्ने गरेकी छु ।’

मिहिनेतले आकृष्ट, छैन अनेक अपेक्षा…
ढुंगाना निकै मिहिनेती थिए । मास्टर्स गर्न अष्ट्रेलिया गए । साथमा अनामिका थिइन् । त्यहाँ पढ्दा र पढाइमा केन्द्रित भएको देखेर छक्क परेको सुनाउँछिन् अनामिका ।

‘यसरी फोकस हुने कि नजिकै बम पड्केको पनि थाहा नहुने गरी’, ढुंगानाको लगनशीलताबारे उनी भन्छिन्, ‘यो देखेर सायद मिहिनेत भनेको यस्तो हुँदो रहेछ भन्ने महसुस गरेँ ।’

अनामिकाका अनुसार कम्पनीको लागि जीवन सुम्पिने ढुंगानाको बानी छ र त्यहीअनुसारको मिहिनेत निरन्तर गरिरहेका छन् । तर पारिवारिक हिसाबले यसरी काम गर्दा पनि केही अपजसहरु भने आउँथ्यो ।

ती अपजसहरु बाहिरी व्यक्तिहरुबाट हुने गर्दथे । मार्नेसम्मको थ्रेट आउँथ्यो । त्यसमा सम्झाउने र सम्हाल्ने अनामिका नै हुन्थिन् ।

उनी भन्छिन्, ‘विभिन्न धम्कीहरु आउँथे । त्यस्तो समयमा सम्झाउँथेँ— केही हुँदैन, गल्ति नगर्नेलाई केही हुँदैन, केही गर्ने कसैको आँट नै हुँदैन ।’

यसरी मिहिनेत गर्ने ढुंगानासँग अनामिकाको कुनै पनि खालको अपेक्षा छैन । ढुंगानाको एउटा सानो बानी भने सुधार्न चाहन्छिन् ।

शालिन स्वभावकी अनामिकालाई ढुंगानाले मानिसहरुसँग नम्र र मिजासिलो बोलिदिए हुन्थ्यो जस्तो लाग्छ ।
‘मनमा पाप नराखी बोल्ने बानी छ । तर सधैँ कडा मिजासमा प्रस्तुत हुनुहुन्छ । बोल्ने त्यही, शब्दहरुको चयन पनि त्यही गरे हुन्छ’, उनी भन्छिन्, ‘तर नम्र स्वरमा बोल्दिनुभयो भने अझ राम्रो हुन्थ्यो ।’

बैंकिङ क्षेत्रमा क्षमता र अनुभवले ढुंगाना अझ परिपक्व र चुनौती सामना गर्न सक्षम भइरहँदा अनामिकालाई अझै एक इँट्टा थप भएको हेर्न मन छ ।

‘उहाँले त्यो शिखरबाट कुशल व्यवस्थापकको भूमिका निभाएको हेर्ने रहर छ’, उनको चाहना छ, ‘बैंकको सीईओका रुपमा मात्रै हैन, बैंकिङ क्षेत्रकै प्रमुख व्यवस्थापकको रुपमा श्रीमानलाई बलियो साथ र सहयोग भर्ने मन छ ।’

 

प्रतिक्रिया

1 COMMENT

  1. छोरी राम्रो प्रस्तुति लाग्यो ।गर्व गर्दै ज्वाईका सफलता र तिम्रा चाहनाहरु पुरा हुदै जाऊन धेरै धेरै शुभकामना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स