काठमाडौं । एचआईडीसीएल अर्थात हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.४७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १८१.६२ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ४.६२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको लाभांश आम्दानी भने १९.३७ प्रतिशत घटेको छ ।
चुक्ता पुँजी बढेपनि नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य सुधार भएको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २६ पैसा बढेर ६ रुपैयाँ ६१ पैसा बढेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८.०३ गुणा रहेको छ ।
२२ अर्ब ७७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ ।