काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र गर्भनर महाप्रसाद अधिकारीको केहि हदसम्म ‘ट्युनिङ’ मिल्न थालेको छ । अर्थमन्त्रीले अर्थतन्त्र चलायमान बनाउनको लागि केहि औजार प्रयोग गर्नुस् भने पछि गर्भनर अधिकारीले लचक नीति अपनाएका छन् । आज सार्वजनिक भएको मौद्रिक नीति समीक्षाले तत्काल कर्जा प्रवाह जाने विषयमा गर्भनरले केहि खेलेका छन् ।
४ वटा वाणिज्य बैंक पुँजीकोष टाइट हुँदा कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा छन् । त्यसमा अहिलेको व्यवस्था पुनरावलोकन गर्ने नीति अपनाएको छ । त्यस्तै गरि घर जग्गा र अटो कर्जामा समेत चलक नीति लिएको छ । हायर प्रचेज कर्जामा १२५ प्रतिशतको जोखिमभारलाई १ सय गरिएको छ । त्यस्तै गरि घरजग्गामा घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने छ । घर जग्गा कर्जा लिनेलाई स्वतः लाभ हुने भएको छ ।
यी नीतिबाट कर्जा प्रवाहमा राहत बढ्ने विश्वास छ । त्यस्तै गरि अर्थमन्त्रीलाई समेत गर्भनरले राष्ट्र बैंक गर्ने काम बजेटमा राखेर सहयोग गर्न भनेका छन् ।
आगामी आर्थिक वर्ष २०८१। ८२ को बजेटका लागि नेपाल राष्ट्र बैंकले र ठूला ऋणीको वर्गीकरण गर्ने विषय उल्लेख गर्न भनेको छ । एउटा सिमा तोकेर सिमा भन्दा बढि ऋण लिनेले वासलत सार्वजनिक गर्नुपर्ने व्यवस्था बजेटमा ल्याउनुपर्ने बताएको छ ।
यो विषय राख्न अर्थमन्त्री इच्छुक समेत देखिएका छन् । त्यस्तै गरि अर्थतन्त्रको औपचारिकरण बढाउन व्यवसायीक रुपमा दर्ता भएका फर्म तथा कम्पनीबाट मात्रै घरजग्गा कारोबार गर्न प्रोत्साहित गर्ने, व्यवसायिक रुपमा सञ्चालन भएका कृषि, लघु, घरेलु तथा साना मझौला उद्यमलाई मात्रै सार्वजनिक निकायबाट सहुलियत प्रदान गर्ने व्यवस्था समेत बजेटमा समावेश हुनुपर्ने बताएको छ । यी सबै विषय समेट्न तथा राष्ट्र बैंकले भने जसरी गर्न अर्थमन्त्री राजी समेत भएका छन् ।
माओवादीबाट नै अर्थमन्त्री रहेका जनार्दन शर्मासँग गर्भनर महाप्रािद अधिकारीको विवाद थियो । तर अहिले माओवादी कै अर्थमन्त्री पुनसँग भने हरेक काममा ट्यूनिङ मिल्दै गएको देखिएको छ । आजको मौद्रिक नीतिमा समीक्षा अघि पनि गर्भनर पुन र गर्भनर अधिकारीको भेट भएको बुझिएको छ ।