अर्थतन्त्रमा सुधार भइरहेको छ, व्यापार व्यवसायमा चलपहल हुनेवित्तिकै लगानी वृद्धि हुन्छः अर्थमन्त्री डा.महत

काठमाडौं । मन्त्री डा. प्रकाशशरण महतले व्यापार व्यवसायमा चलपहल हुनेवित्तिकै लगानी वृद्धि हुने बताएका छन् । नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दैै डा.महतले यसले आर्थिक गतिविधि बढाउने बताएकाह हुन् ।

राजनीतिक परिवर्तन पछि अब आर्थिक समृद्धि र पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । अर्थतन्त्र विस्तारै लयमा फर्किएकाले अब पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

‘देशको अर्थतन्त्र समस्यामा थियो, विस्तारै सुधार हुँदैछ । हामीले धेरै राजनीतिक आरोह–अवरोह पार गरिसक्यौं, राजनीतिक पूर्वाधार तयार पारिसक्यौं । अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ । यो पूर्वाधार हामी तयार पार्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं’, मन्त्री डा महतले भने ‘हाम्रो आर्थिक सूचकांक सकारात्मक छन् ।

मूल्यवृद्धि नियन्त्रणमा छ । ब्याजदर घटिरहेको छ । सेयर बजारमा सुधार भइरहेको छ । आर्थिक गतिविधि पनि विस्तारै चलायमान बन्दै गएको छ ।’ मुलुकलाई आर्थिक गति दिनका लागि स्पष्ट मार्गचित्र बन्दै गएको अर्थमन्त्री महतको दावी छ ।

अर्थतन्त्रमा शिथिलता देखिएका कारण बजार चलायमान हुन नसक्दा उपभोक्ता तथा निजी क्षेत्रको घट्दै गएको आत्मविश्वास अहिले सुधार हुँदै गएको पनि उनले बताए । ‘अहिलेको आवश्यकता भनेको आत्मविश्वास आर्जन गर्नुपर्ने छ । त्यसका लागि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ ।

अहिलेसम्म हामीले धेरै नकारात्मक कुरा गयौं, यसले गर्दा हामी आत्मविश्वास कमजोर बन्यो । यथार्थ विषयवस्तुलाई नकारात्मक सन्देशले बल पुग्यो’, मन्त्री डा महतले भने ‘सकारात्मक सन्देश प्रवाहसँगै हाम्रो व्यापार व्यवसायमा आत्मविश्वास बढ्छ । उपभोक्ताको आत्मविश्वास बढ्छ । उपभोक्तामा आत्मविश्वास बढ्दा व्यापार व्यवसाय बढ्ने हो । व्यापार व्यवसायमा चलपहल हुनेवित्तिकै लगानी वृद्धि हुन्छ । यसले आर्थिक गतिविधि बढाउँछ ।’

नेपालको विशिष्ट पहिचान बोकेका वस्तु र सेवाको पर्याप्त बजारीकरण हुन नसकेको पनि अर्थमन्त्री महतले बताए । वस्तु तथा सेवाको उत्पादन, बजारीकरण र खपतसँग जोडिएका सबै पक्ष मिलेर नेपाली उत्पादनको प्रयोग र बजारीकरणलाई बढावा दिन जरुरी रहेको उनले उल्लेख गरे । विशिष्ट खालका वस्तु तथा सेवा उत्पादन गरेर विश्वका विभिन्न देशले आफ्नो पहिचान स्थापित गरेकोमा नेपालले पनि त्यसबाट लाभ लिनसक्नुपर्ने उनको भनाइ छ ।

‘नेपालमा युनिक उत्पादन गरेर संसारभरि बजारीकरण गर्न सकिन्छ । उपभोक्ताले जहिले पनि अरुभन्दा फरक रुचाउँछन् । नेपालको सकारात्मक पक्ष भनेको विशिष्ट खालका वस्तुको उत्पादन हो । हाम्रो संस्कार, संस्कृति, जनजाति, वन्यजन्तु र सामाजिक एकता यहाँको विशिष्ट पहिचान हो’, अर्थमन्त्री महतले भने ।

 

प्रतिक्रिया

हेडलाइन्स