यस्ता छन् नीति तथा कार्यक्रमका प्रमुख १० आकर्षण

काठमाडौ । आगामी आर्थिक वर्ष २०८२।८३को सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक भएको छ । सरकारले तयार गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तु्त गरेका हुन् ।
सार्वजनिक भएको नीति तथा कार्यक्रमले आगामी वर्ष सरकारले कस्ता कामकमहरुलाई प्राथमिकतामा राख्छ भन्ने विषयहरु स्पष्ट गरेको छ ।
आगामाी बजेट, मैद्रिक नीति तथा सरकारले लिने विविध निर्णयको प्राथमिकतालाई आज सार्वजनिक भएको नीति तथा कार्यक्रममा समावशे गरेको छ ।
नीति तथा कार्यक्रम अनुसार नै बजेट कार्यक्रम तय हुने बताइन्छ । त्यसकारण पनि नीति तथा कार्यक्रम महत्वपूर्ण नै मानिन्छ ।
नीति तथा कार्यक्रममा देखिएको महत्वपूर्ण विषयहरु यस्ता छन्
१. सरकारले गैर बैंकिङ सम्पत्ति व्यवस्थापनको लागि कम्पनी स्थापना गर्ने
 सरकारले गैर बैंकिङ सम्पत्ति व्यवस्थापनको लागि कम्पनी स्थापना गर्ने भएको नीति अघि सारेको छ । उक्त प्रकारको सम्पत्ति वृद्धि भैरहेको अवस्थामा सरकारले यसलाई प्राथमिकतामा राख्ने र सरकारले नै कम्पनी स्थापना गर्ने नीति अघि सारेको हो ।
 २. नयाँ स्टक एक्सचेन्जको लाइसेन्स नदिने छनक
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स नदिने छनक सरकारले देखाएको छ । नीति तथा कार्यक्रममा नेपाल स्टक एक्सचेन्जलाई पुनसंरचना गर्ने नीति अघि सारिएको हो । उच्चस्तरिय आयोगले पनि सोहि किसिमको सुझाव दिएको थियो । तर अब भने नयाँ स्टक आवश्यक रहेनरहेको विषयमा नेपालमा लामो छलफल भैसकको छ । नियामक नियका धितोपत्र बोर्ड आवेदन नै गरिसकेको अवस्था छ । अब भने सरकारले नेप्सेको नै क्षमता वृद्धि गर्ने विषयलाई प्राथमिकतामा राखेको हो ।
३. सामाजिक सुरक्षा कोषलाईमा अनिवार्य नीति 
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई अनिवार्य गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम संसद् बैठकमा प्रस्तुत गर्दै यस्तो घोषणा गरेको हो । एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणालाई थप सुुदृढ गर्दै कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलगायत निकायबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमबीच समन्वय गरिने उनले उल्लेख गरे ।
 ४. सरकारले कृषि उद्यम परियोजनालाई नै धितो राखेर कृषि कर्जा दिने 
 सरकारले कृषि उद्यम परियोजनालाई नै धितो राखेर कृषि कर्जा दिने घोषणा गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरेका हुन् । उनले कृषि क्षेत्रको जुनसुकै विद्यामा उद्यम गर्ने चाहनेलाई भुमि, कृषि सामग्री, बीमा, खरिद सम्झौतालाई बजारको इकोसिस्टम कायम गरिने बताएका छन् । कृषि उद्यम गर्नेलाई इकोसिस्टम प्रणलाीमा समेटेर पाइलट परियोजना सुरु गर्ने पनि उनले घोषणा गरे । यस्तै कृषिमा अग्रिम खरिद सम्झौता गरेर बजार सुनिश्चित गर्ने पनि नीति तथा कार्यक्रममा समावेश छ ।
५.ठूलो आयोजना कटौतीको नीति
सरकारलाई बजेट स्रोत जुटाउन ठूलो चाप देखिएपछि आगामी आर्थिक वर्षको बजेटमा रुग्ण र समस्याग्रस्त आयोजनामा ठूलो कटौती हुने देखिएको छ । यस्तै, सञ्चालन घाटा उच्च रहेका र कमजोर प्रतिफल दिने सार्वजनिक संस्थाहरूलाई खारेज गर्नेसम्मको विषय सरकारको आगामी आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रममा अटाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा विकास निर्माणका क्रममा देखापरेका कमजोरीलाई सुधार गर्न विकासको ढाँचा र गति फेर्ने उल्लेख छ ।यस्तै, अघिल्ला सरकारबाट घोषणा हुँदै आएका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गर्ने नीति सरकारले लिएको छ । परियोजनालाई वर्गीकरण गरी आगामी आर्थिक वर्ष २०८२र८३ मा सम्पन्न हुने र यस संसद्को अवधिभित्र सम्पन्न हुनेगरी समयतालिका निर्धारण गर्ने पनि जनाइएको छ ।
६. सवारी साधनमा यूरो–६ मापदण्ड
 सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा यूरो–६ मापदण्ड लागू गर्ने नीति अघि सारको छ । वायु गुणस्तर कार्ययोजना लागू गर्ने घोषणा गरेको सरकारले वातावरण प्रदूषणका प्रमुख कारण मानिने पेट्रोल डिजेलबाट चल्ने सवारी साधनमा युरो ६ मापदण्ड लागू गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
७. सरकारले सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गर्ने
सरकारले सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को  नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै अस्पताललाई अनलाइन सेवामा आबद्ध गर्नेगरी नागरिक एपलाई सुधार गरिने बताए । सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सङ््घ, प्रदेश र स्थानीय तहबीच सहकार्य गरिने उनले बताए ।
८. दुई वर्षभित्र सम्पत्ति शुद्धीकरण निवारण मामिलाका सबै मापदण्ड पूरा गर्ने
सम्पत्ति शुद्धीकरण निवारणका मामलामा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को खैरो सूचीमा रहेकामा सरकारले आगामी दुई वर्ष सबैखालका अन्तरराष्ट्रिय मापदण्ड पूरा गर्ने नीति लिएको छ ।
 
९.परराष्ट्र सम्बन्ध विस्तारको नीति 
‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ का आधारमा परराष्ट्र सम्बन्ध विस्तार नीति अघि सारको छ । उक्त मान्यता अनुरूप सार्वभौमिक समानताका आधारमा सबै राष्ट्रसँग सम्बन्ध विस्तार गर्ने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छिमेकी मित्र राष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध घनीभूत गरी, पारस्परिक लाभ र सम्मानमा आधारित सम्बन्ध कायम गरिने उल्लेख गरे । यसैगरी राष्ट्रिय हितको रक्षा गर्न संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तरराष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताको आधारमा स्वतन्त्र परराष्ट्र नीतिलाई अवलम्बन गरिने सरकारको नीति छ ।
 १०. ‘नागरिक सेवा केन्द्र’ बाट एककिृत सेवा दिने 
सरकारले विभिन्न निकायबाट प्रदान गरिने सेवा एकै ठाउँबाट प्रदान गर्ने भएको छ । सेवाग्राहीलाई सहजता र सुविधाका लागि भन्दै सरकारले नीति तथा कार्यक्रममार्फत नागरिक सेवा केन्द्रको घोषणा गरेको हो । नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘नागरिक सेवा केन्द्र’हरुबाट विभिन्न निकायबाट प्रदान गरिने सेवा एकै ठाँउबाट दिने तयारी रहेको बताए । सरकारले स्थानीय तहसँगको समन्वयमा यस्ता केन्द्रहरु स्थापना गर्ने घोषणा गरेको हो ।

प्रतिक्रिया

हेडलाइन्स