काठमाडौं । नेपालमा भएको विदेशी मुद्राले १७ दशमलव २ महिनाको वस्तु आयात धान्न सक्ने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सात महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात धान्ने देखिएको हो ।
त्यस्तैगरि १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।
अहिले २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.१ प्रतिशतले वृद्धि भई २०८१ माघ मसान्तमा २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ माघ मसान्तमा १३.९ प्रतिशतले वृद्धि भई २१ खर्ब ०५ अर्ब १४ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ माघ मसान्तमा ३७.१ प्रतिशतले वद्धि भई २ खर्ब ६३ अर्ब ९३ करोड कायम भएको छ ।