काठमाडौं । लुम्बिनी प्रदेशमा विभिन्न विपद्बाट ५ करोड ५० लाखभन्दा बढी क्षति भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेयका अनुसार विपद्का कारण चालु आर्थिक वर्षको कात्तिकसम्म ५ करोड ५८ लाख ५२ हजार रुपैयाँ बराबरको क्षति भएको हो ।
सबैभन्दा बढी रोल्पामा १ करोड ७१ लाख ४९ हजार र सबैभन्दा कम रुकुमपूर्व र गुल्मीमा शून्य क्षति भएको उनले जानकारी दिए । लुम्बिनीमा चार सय ५२ घटना भएकामा एक सय १४ जनाको मृत्यु भएको छ, भने दुई सय २९ घाइते भएका छन् ।
विपदबाट १० जना बेपत्ता भएका छन् भने एक सय १५ संरचना पूर्ण रूपमा क्षति भएका सूचना अधिकारी पाण्डेयले बताए । उनका अनुसार तीन सय २३ संरचनामा आंशिक क्षति भएको छ । लुम्बिनीमा बाढी, पहिरो, डुबानबाट उक्त क्षति भएको हो । पहाडी क्षेत्रमा पहिरो तथा तराईमा बाढी र डुबानले बढी क्षति भएको पाण्डेयले उल्लेख गरे ।