काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले नेपालमा डिजाइन भैरहेको यूएसएडका तीन कार्यक्रम रोकिएको छ ।
अर्थमन्त्रालयका अनुसार जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम रोकिएका हो ।
तर यी कार्यक्रममा कुनै पनि सहयोग प्राप्त भैनसकेको जनाएको छ। मन्त्रालयले भनेको छ ,‘उक्त कार्यक्रमहरुको सम्झौता समेत नभइसकेकाले कुनै सहयोग प्राप्त भएको हो थिएन ।’
अमेरिकी सहयोग नियोग यूएसएडले नेपालमा सन् १९५१ देखि निरन्तर अनुदान सहायतामार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका मन्त्रालयले जनाएको छ ।
सहयोग प्राप्त भएको कार्यक्रम भने ९० दिनको लागि रोकिएको अर्थमन्त्रालयले स्पष्ट पारेको छ ।
अर्थमन्त्रालयले विज्ञप्ती नै जारी गरेर भनेको छ ,‘नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको छ। अमेरिकी सहयोग नियोगबाट नेपालमा लामोसमयदेखी निरन्तर रुपमा अनुदान सहायता मार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ । यसैबीच, अमेरिकी राष्ट्रपतिबाट जारी कार्यकारी आदेशबमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रमहरु ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको छ ।’