काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अर्धवार्षिक समिक्षा सार्वजनिक गरेको छ । सोमबार बेलुका राष्ट्र बैंकले मौद्रिक नीति अर्धवार्षिक समिक्षा २०८०/८१ सार्वजनिक गरेको हो ।
यस्ता छन् मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाले गरेका ५ नयाँ व्यवस्था :
१. आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको छ ।
२. अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ।
३. ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइनेछ ।
४. संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने छ।
५. कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको रु। २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने छ ।