काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले २०८१/०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा मनाउने बताएका छन् ।
बिहीवार नबिल बैंकले आयोजना गरेको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’को शुभारम्भ कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारीको विकल्प भनेको आन्तरिक रोजगारी भएकाले सरकारले २०८१ देखि २०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा अघि बढाउन लागेको बताएका हुन् ।
आन्तरिक रोजगारी बढाउन नसकेसम्म वैदेशिक रोजगारीमा जानेकुरालाई व्यवस्थित र अनियमितताको नियन्त्रण गर्नु रहेको बताए । भण्डारीले मुलुकको अर्थतन्त्र विस्तारै लयमा गइरहेको बताए । अर्थतन्त्रको अवस्था सवल नभएकाले वेरोजगारी, गरिबी लगायतका समस्या समाधान गर्न नसकेको जिकिर गरे । भण्डारीले दैनिक विदेश पलायन भएका युवाहरूसँगै स्वदेश फर्किरहेका युवाहरुको बारेमा पनि तथ्यांक सार्वजनिक गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘हामीले ज्यादै ठूलो चिन्ता पनि व्यक्त गरिरहेका छौँ कि हाम्रा सबै युवाहरु बाहिर गइरहेका छन् भनेर’, उनले भने ‘मानौँ मुलुक नै खाली भइसक्यो भन्ने खालको मानसिकताका हामीमा छ ।’ यो बाध्यात्मक अवस्था हो भन्नेकुरा सबैले महसुस गरिरहेका छौँ । अहिले मुलुकको आर्थिक अवस्था केही न केही सुधार भइरहेको छ ।
मन्त्री भण्डारीले डा.गणेश गुरुङको नेतृत्वमा ‘राष्ट्रिय आप्रवासन नीति’ बनाउनुपर्ने बेला भयो भन्ने हिसावले अघि बढाउँदै छौँ’, उनले भने ‘वैदेशिक रोजगारीमा जानेकुरालाई व्यवस्थित गर्दै, यसमा भएका विभिन्न अनियमितताको नियन्त्रण गर्दै जाने बताए । वैदेशिक रोजगारीको विकल्प भनेको आन्तरिक रोजगारी नै हो भन्दै उनले त्यसकै गृहकार्यमा लागेको बताए ।
भण्डारीले श्रम मन्त्रालय अन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७५३ पालिकामा पुर्याउन र वैदेशिक रोजगारीमा गएकाहरुको सम्पूर्ण विवरण राख्ने काममा रोजगार सेवा केन्द्र स्थापना गरी काम भइरहेको बताए ।