काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.९३ प्रतिशत कम हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३१ करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकको खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४.८० प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३.१६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३१.०४ प्रतिशत घटेको छ ।
समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.९८ प्रतिशतबाट बढेर २.५१ प्रतिशत पुगेको छ । जसका कारण इम्पेरिमेन्ट चार्ज ४४ करोडबाट बढेर साढे ७८ करोड पुगेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ५९ पैसा घटेर ११ रुपैयाँ ९२ पैसामा झरेको छ । पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३२.२६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ३ पैसा रहेको छ ।
७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ६० करोड ९४ लाख रुपैयाँ सञ्चित छ । पुसको अन्त्यसम्ममा बैंकले १ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।