राष्ट्र बैंकले बढायो सेयरधितो कर्जाको सीमा, व्यक्तिगत र संस्थागत लगानीकर्ताले कति लिन पाउँछन् लोन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जा बढाएको छ । बैंकले आज एकीकृत निर्देशिका संशोधन गर्दै व्यक्तिगत एकल ग्राहक कर्जा १५ करोड र संस्थागत लगानीकर्ताहरूको लागि यस्तो सीमा २० करोड कायम गरेको छ ।

कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड कायम गरिएको छ ।

धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड कायम गरिएको छ । यस अघि सेयरधितो कर्जाको सीमा १२ करोड रुपैयाँ थियो ।

गत २ असोजमा भएको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकमा नेपाल राष्ट्र बैंक मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमामा परिमार्जन गर्न तयार भएको थियो । सो दिन अर्थमन्त्री डा. प्रकाशकरण महतले नै भू–उपयोग नियमावली संशोधन मार्फत जग्गाको कित्ताकाट खुलाएको भन्दै अब सेयर बजारमा पनि तरलता सहजीकरण गर्नुपर्ने बताएका थिए ।

राष्ट्र बैंकले कर्जाको नोक्सानी व्यवस्थामा पनि सहजीकरण गरेको छ। असल वर्गमा वर्गीकरण भएको कर्जामा १.३ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्नेमा त्यसलाई संशोधन गर्दै १.२५ प्रतिशत गर्नुपर्ने व्यवस्था गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स