नेपालको ४ र विश्व अर्थतन्त्रको २.८ प्रतिशतले आर्थिक वृद्धिदर हुने आईएमएफको प्रक्षेपण

काठमाडौं । यस वर्ष विश्वव्यापी अर्थतन्त्र २.८ प्रतिशतले मात्रै वृद्धि हुने भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२५ मा विश्वव्यापी अर्थतन्त्र २.८ प्रतिशतले मात्रै विस्तार हुने प्रक्षेपण गरेको हो ।

आईएमएफले यस अघि विश्वको अर्थतन्त्र ३.३ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको थियो ।

विश्वको अर्थतन्त्रको वृद्धिदर २.८ प्रतिशत हुँदा नेपालको भने यस वर्ष यस्तो दर ४ प्रतिशत हुने प्रक्षेपण आईएमएफले गरेको छ । नेपाल आफैले गरेको प्रक्षेपणमा भने नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने अनुमान गरिएको छ । यो अनुमान पुसमसान्तसम्मको हो ।

अमेरिका, जापानसहितका विकसित देश थला पर्दा विश्वको अर्थतन्त्र कमजोर देखिने अनुमान गरिएपनि नेपालजस्तो अति कम विकसित देश नेपाल, चीन र भारतको जस्ता ठूला पुँजीवादी देशको अर्थतन्त्रको अवस्था सन्तोषजनक देखिएको छ ।

छिमेकी मुलुक चीनको आर्थिक वृद्धिदर पनि ४ प्रतिशत हुने देखाएको छ । यस वर्ष अर्को छिमेकी देश भारतको भने आर्थिक वृद्धिदरको ग्राफ माथि जाने अनुमान आईएमएफले गरेको छ । आईएमएफले यस वर्ष भारतको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।

सन् २०२५ मा अमेरिकाको यो वर्षको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने प्रक्षेपण गरेको त्यसलाई संशोधन गरेर १.८ प्रतिशतले मात्र अमेरिकी अर्थतन्त्र बढ्ने प्रक्षेपण कोषले गरेको हो ।

अमेरिका र युरोपियन मुलुको आर्थिक वृद्धिदर अझ तल

अमेरिका मात्र होइन, युरोपेली देशहरुको आर्थिक वृद्धिदर निकै कम मात्र हुने आईएमएफले घोषणा गरेको छ । आईएमएफका अनुसार यो वर्ष बेलायतको वृद्धिदर १.१ प्रतिशत मात्र हुने छ ।

जर्मनी, फ्रान्स र इटलीको आर्थिक वृद्धिदर त्यो भन्दा पनि घट्ने अनुमान गरेको छ । यो वर्ष जर्मनीको ०.३ प्रतिशत, इटालीको ०.४ प्रतिशत तथा फ्रान्स र जापानको ०.६ प्रतिशतले मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
राष्ट्रपति ट्रम्पले व्यापार युद्ध शुरु गरेपछि परेको गम्भिर नकारात्मक असरका कारण अमेरिकी अर्थतन्त्र पूर्णरुपमा शिथिलतातर्फ उन्मुख भएको आईएमएफको उल्लेख गरेको छ ।

तथ्यांकको बारेमा बोल्दै कोषका प्रमुख अर्थशास्त्री पिएर–ओलिभिए गुराँशाले कोरोनाले थला पारेको अर्थतन्त्रलाई चलायमान बनाउन जोड दिनु पर्नेमा ट्रम्पले व्यापार युद्ध शुरु गरेर अर्काे चुनौति थपेको बताएका छन् ।

ट्रम्पले ट्यारिफका कारण अमेरिकी उपभोक्ताले बढ्ता अमेरिकी सामान किन्ने, सरकारी राजस्व बढ्ने अनि देशभित्र ठूलो स्तरमा लगानी हुने भन्दै आएका छन् ।

प्रतिक्रिया

हेडलाइन्स