काठमाडौं । चालु आर्थिक वर्ष ९ महिनामा नबिल बैंकले ४ खर्ब कर्जा प्रवाह गरेर नाफा ५ अर्ब नाघेको छ । बैंकले कमाएको नाफा अन्य वाणिज्य बैंकको तुलनामा सबैभन्दा बढी हो ।
चालु आवको तेस्रो त्रैमाससम्म बैंकको नाफा ८.२१ प्रतिशतले बढेर ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्ष तेस्रो त्रैमास वा चैत मसान्तसम्म बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले ४ र्ख कर्जा लगानी गरेको कमाएको नाफा जम्मा लगानी अनुपातको ५.०५ प्रतिशतमात्रै हो । यो नाफालाई राम्रो मान्न नसकेपनि बैंकको प्रतिसेयर आम्दानी भने राम्रो नै मान्न सकिने अवस्था देखिन्छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको कर्जा ७.३८ प्रतिशतले वृद्धि भई ४ खर्ब १ अर्ब १६ करोड २३ लाख पुगेको छ । यस अवधिमा बैंकको कर्जाले २७ अर्ब ५९ करोडले बढेको हो । बैंकको कर्जा मात्रै विस्तार गरेको छैन यो अवधिमा निक्षेप पनि ८.६६ प्रतिशत अर्थात ४० अर्बले बढाएर ५ खर्ब २ अर्ब ११ करोड पुर्याएको छ ।
बैंकको निष्कृय बढेपनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा सम्भावित कर्जा नोक्सानीको लागि छुट्याएको रकम घटेको छ । यसले गर्दा बैंकको नाफा बढेको छ ।
निष्कृय कर्जा बढेसँगै बैंकले चैत मसान्तसम्म सम्भावित कर्जा नोक्सानी वापत २ अर्ब २९ करोड ३२ लाख रुपैयाँ छुट्याएको छ ।
गत आवको यस अवधिमा बैंकले सम्भावित कर्जा नोक्सानी वापत ३ अर्ब २३ करोड ५९ लाख रुपैयाँ छुट्याएको थियो । आम्दानी घटेपनि र कर्जा नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम घट्दा बैंकको नाफामा वृद्धि भएको हो । जसले बैंकलाई नम्बर वान बैंक बनाउन फेरि पनि सहयोग मिलेको छ ।
बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंक कर्जा बढेको छ । कर्जा बढेपनि बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । खुद शुल्क तथा कमिसन आम्दानी र नेट ट्रेडिङ आम्दानीमा वृद्धि भएपनि खुद ब्याज आम्दानी घट्दा बैंकको कुल सञ्चालन आम्दानीमा दवाव परेको छ ।
व्यवसाय बढाएपनि बैंकको स्प्रेड दर घटेको कारण खुद ब्याज आम्दानी घटेको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ प्रतिशत रहेको बैंकको स्प्रेड दर चालु आवको तेस्रो त्रैमासमा ३.५७ प्रतिशतमा झरेको हो ।
जसले व्यवसाय विस्तार गर्दा पनि बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशतले घटेर १२ अर्ब ५ करोड ४४ लाखमा झरेको हो । बैंकको खुद फि तथा कमिसन आम्दानी २ अर्ब २२ करोड ६५ लाखबाट बढेर २ अर्ब २७ करोड ७२ लाख पुगेको हो ।
बैंकको नेट ट्रेडिङ आम्दानी बढेर ५४ करोड ६८ लाख रुपैयाँ र अन्य सञ्चालन आम्दानी ४१ करोड ९९ लाख रुपैयाँपुुगे पनि कुल सञ्चालन आम्दानी घटेर १५ अर्ब २६ करोड ५४ लाखमा घटेको हो ।
चैत मसान्तमा बैंककको खुद सञ्चालन नाफा ६ अर्ब ६८ करोड ४२ लाखबाट बढेर ७ अर्ब २२ करोड २३ लाख रुपैयाँ पुगेको छ ।
नाफासँगै बैंकको वितरणयोग्य नाफा पनि उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको चैतसम्म २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १२.६८ प्रतिशत छ ।
बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ७० लाख रुपैयाँ छ । बैंकको जगेडाकोषमा ३१ अर्ब ३१ करोड ५५ लाख रुपैयाँ पुगेको छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी बढेर २५ रुपैयाँ ५ पैसा पुगेको छ ।
बैंकको प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात १९.४४ गुणा छ । चैत मसान्तमा बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.१२ प्रतिशत पुगेको छ भने पूँजीकोष अनुपात ११.७२ प्रतिशत रहेको छ ।
निष्कृय कर्जा अनुपात घटेर ०.६४ प्रतिशतमा सीमित छ । सीडी रेसियो ८२.३१ प्रतिशत र तेस्रो त्रैमासको औसत आधारदर ५.९७ प्रतिशत छ ।